२०७८ सालतिर कञ्चनपुरका राम रोकाय बिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै थिए। पढाइमा तेजिला राम त्यसैले दायाँ–बायाँ नगरी पढाइमै घोत्लिइरहन्थे।
परिवारको जेठो छोरा भएकाले आर्थिक भार उनैमाथि थियो। बुढा हुदैं गएका बाआमा देख्दा उनी मनमनै सोच्थे, ‘म पनि विदेश गएर बाआमालाई खुसीसँग राख्नेछु।’
घरको अवस्थाले उनी बेलाबेलमा निचेरिन्थे।
तर पनि राम बिचलित थिएनन्। पढिरहेका उनको एक दिन गाउँकै दीपक शाही नाम गरेका व्यक्तिसँग भेट भयो। तिनै दीपकले रामलाई भने, ‘युरोप जाने हो?’
सुरुमा रामले उनको कुरा पत्याएका थिएनन्। तर, दोस्रो पटक भने रामको मन अलिकति बदलिन खोज्यो।
दोस्रो भेटमा दीपकले भनेका थिए, ‘तिमीहरू नडराओ, म पनि तिमीहरूसँगै जान्छु। मेरा भाइ–बुहारी पनि हुन्छन्।’
त्यसपछि दीपकको कुरा पत्याएर राम युरोपेली देश पोर्चुगल जान तयार भए।
सजिलै युरोप पुग्ने सपनामा रमाउँदै उनले पढाइ त्याग्ने निधो गरे। रहरहरू पंख काढेर उड्न थाले।
सबै तयारी सकेर राम त्यही वर्षको चैत २८ गते पोर्चुगल उड्ने पक्कापक्की भयो।
सबै कुरा योजनाअनुरुप नै भयो। रामले विमानस्थल पुगेर थाहा पाए दीपकले आफूजस्तै १७ जनालाई पोर्चुगल लैजाँदै थिए।
अरु साथीहरू पनि सँगै जाने भएपछि राम अलिकति ढुक्क पनि भए। दीपकले रामसहित १७ जनालाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मस्को पुर्याए। त्यहाँबाट दीपक अर्कै देश बोस्नियातिर लागे। बाँकी १७ जनालाई भारतीय एजेन्ट प्रभाषले होटलमा लगेर राखे।
त्यस होटलमा उनीहरूले एक साता बिताए। तर, पोर्चुगल जाने दिन आएन। त्यसपछि उनीहरूको मनमा चिसो पस्यो। त्यसपछि ती भारतीय एजेन्टलाई दीपकसँग सम्पर्क गराइदिन भने। तर, दीपक सम्पर्कमा आएनन्। बरु उनीहरूलाई फेरि पाकिस्तानी मुलका अर्को एजेन्टको जिम्मा लगाइयो।
त्यसपछि पाकिस्तानी एजेन्टले पोर्चुगल जान पानीको बाटो हुँदै लात्भिया पुर्याए।
लात्भियामा उनीहरू प्रहरीको फन्दामा परे। प्रहरीले सबैको मोबाइल खोस्यो।
त्यसपछि बल्ल उनीलाई लाग्यो– हामी ठगिएछौं। प्रहरीले त केही दिनमा छोड्यो।
तर त्यो बेला उनीहरूसँग केही थिएन। न खानेकुरा थियो न नै पिउने पानी।
र पनि पोर्चुगलसम्म पुग्ने आशमा उनीहरू १७ दिनसम्म जंगलै जंगलको बाटो हिँडेर जर्मनीसम्म पुगे। त्यहाँ पनि उनीहरूको पोचुर्गल छिर्ने योजना पनि सफल हुन सकेन।
अनि त्यहाँबाट विदेशको बाटो मोडियो। उनीहरू सबै सल्लाह गरेर बेलारुस हुँदै नेपाल फर्किए।
त्यसपछि अनि मानब बेचबिखन अनुसन्धान ब्युरोमा पुगे।
घटना–२
काठमाडौंको धनाढ्य परिवारकी कान्छी छोरी। पढेलेखेकी आधुनिक महिला। श्रीमान् अमेरिकामा काम गर्दै थिए। उनी पनि अमेरिका जान विभिन्न कन्सल्टेन्सी धाइरहेकी थिइन्। तर, उनको भिषा लागेन।
सिधा तरिकाले अमेरिका जान खोज्दा कठिनाइ आएपछि एकजना एजेन्टले कुर्दिस्तान हुँदै अमेरिका पठाइदिने बाटो देखाए। अमेरिका जाने लोभमा लाखौं पैसा तिरिन् र घर सल्लाह केही नगरी दिल्ली हुँदै कुर्दिस्तानको बाटो अमेरिका पुग्ने यात्रामा हिँडिन्।
गैरकानुनी बाटोले उनलाई कता लाँदैछ, अनुमान पनि गरेकी थिइनन्। उनलाई दिल्लीबाट श्रीलंका र त्यहाँबाट फेरि दुबई पुर्याइयो। दुबईमा १० दिन एउटा आश्रयस्थलमा राखियो, जहाँ दिनहुँ २५–३० जना मानिस आउँथे कामदार छान्न।
उनलाई पनि दुई–चार जनाले मन पराएर लैजान खोजेका थिए। तर उनी गइनन्। बरू कुटाइ र पिटाइ खाँदै बसिरहिन्।
पछि उनलाई बेहोस बनाएर ओमान पुर्याइयो। जति नाइँनास्ती गर्दा पनि ओमानको एजेन्टले उनलाई एउटा घरमा घरेलु कामदारको रूपमा १५ सय ओमानी रियाल लिएर बेचिदियो।
कता अमेरिकाको सपना बुन्दै हिँडेकी उनी अर्काको घरको जुठो भाँडा माझ्न पुगिन्।
३–४ दिन बसेपछि गर्दिनँ भनिन् र ती मालिकले उनलाई एजेन्टकहाँ नै लगेर छोड्यो।
एजेन्टले मालिकलाई पैसा फिर्ता दिन मानेन। उनको पासपोर्ट त्यही मालिकसँगै थियो। उसले पैसा नपाएपछि त्यो दिएन।
अनि फेरि उनलाई त्यही एजेन्टले ६ महिनासम्म बन्धक बनायो।
कतार दुतावासमा सम्पर्क भएपछि उनलाई त्यसको दुई महिनापछि बल्ल त्यहाँबाट नेपाल फर्काउन सफल भयो।
घटना–३
काभ्रेपलाञ्चोककी अनु गौतमलाई फेसन डिजाइनर बन्ने ठुलो सपना थियो। उनी फेसन डिजाइनिङ पढ्नका लागि आफ्नो आर्थिक हैसियतअनुसारको कलेज खोज्दै थिइन्।
कलेजहरू बुझ्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोकका राजु विकसँग भयो। धेरै कलेजहरू बुझिसक्दा पनि आफ्नो बजेट अनुसार फेसन डिजाइनिङ पढाउने कलेज नभेटाएर चिन्तित थिइन्।
एकदिन उनले आफ्नो सो समस्या राजुलाई सुनाइनन्।
राजुले अनुलाई भारतमा नेपाली एक लाखमै फेसन डिजाइनिङको कोर्स पढ्न पाइने बताउँदै उतै गएर पढ्न भने। र, उनी आफैले भारत पुगेरै कलेज भर्ना गराइदिने वचन दिए।
नेपालमा पाउनसम्म दु:ख पाएकी अनुलाई पनि तीर्खा लागेको बेला खोला भेटिएजस्तै भयो।
हाँसी–खुसी राजुले जे–जे भन्दै गए त्यही त्यही गरिन्। उनले राजुकै भरोसामा २०७३ वैशाखमा घर छोडिन्।
फेसन डिजाइन कोर्स पढ्ने रहर बोकेर भारत पुगेकी उनलाई राजुले नयाँ दिल्लीको कोठीमा पुर्याए।
त्यसपछि मात्रै उनले आफू बेचिएको पत्तो पाइन्। अनेकौं संघर्षपछि उनी २०७६ सालमा भागेर नेपाली आइपुगिन्।
आउँदैनन् उजुरीहरू
यी फरक–फरक प्रकृतीका प्रतिनिधि घटनाहरू हुन्, जसले नेपालमा बढ्दै गइरहेको मानव बेचबिखनको चित्र झल्काउँछ।
विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदनहरू केलाउने हो भने नेपालबाट करिब वार्षिक १५ हजारजति मानिस बेचिन्छन्। ती महिला–पुरुष र बालबालिकासमेत हुन्छन्।
तर मानव बेचबिखनका आरोपसहित परेका उजुरी भने आर्थिक वर्ष २०७९/८०को साउन सम्म २० वटामात्रै छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अघिल्लो आर्थिक वर्षमा मानव बेचबिखन विरुद्धका उजुरीको संख्या १५७ रहेको थियो। जसमा महिला २१० जना २० जना पुरुष बेचिएको भनिएको छ।
बेचिनेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १२२ र कोशीमा सबैभन्दा कम ८७ वटा मानव बेचबिखन घटनाका उजुरी परेको देखिन्छ। काठमान्डौं उपत्यकामा ६९ र वागमतीका अन्य जिल्लामा ३५ वटा मानव बेचबिखन घटनाका उजुरी परेका छन्।
फेरिएको तरिका
मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार अहिले मानव बेचबिखनको लहर अमेरिकी र युरोपेली देशहरूतिर सोझिएको छ।
उनका अनुसार यहाँबाट फकाएर वा झुक्याएर अर्को देशमा पुर्याएर एजेन्टको जिम्मा लगाउनु पनि बेचबिखनकै अपराध हो।
‘यहाँबाट यस्तो राम्रो काम छ, यति पैसा दिनुस हामी तपाईंलाई यो काम लगाइदिन्छौँ भनेर लिएर जान्छन्। राम्रो व्यवहार देखाउँछन्’ उनले भने, ‘तर उता पुगेपछि महिलाहरूलाई जवर्जस्ती घरायसी कामदार र केटाहरूलाई सर्कस, लेबरलगायतका क्षेत्रमा बेचिदिन्छन्।’
अमेरिका र युरोपियन देशमा अवैध बाटोबाट मानव तस्करीका घटना व्यापक हुँदै गइरहेको उनी बताउँछन्।
‘बाटोमा महिनौँ लगाई, लाखौं सिध्याएर, ज्यान जोखिममा पारेर नेपालीहरू अमेरिका जान तयार हुने गरेका छन्’ उनले भने, ‘यसरी दलालको पछि लागेर त्यसरी अमेरिका जान लागेकाहरू विभिन्न देशमा अलपत्र परेका छन्। अमेरिका पुग्न हिँडेका धेरै अजैरबैजानमा थुनामा छन्। भने कतिपय त बेपत्ता छन्। कतिलाई अरू नै देशमा बेचिएको छ।’
कतिपय खाडी देशमा जाने घरेलु कामदारहरूलाई रोक लगाएपछि भारत हुँदै तेस्रो मुलुक जाने गतिविधि बढेको छ। जसले मानव बेचविखनका समस्या झन बढाउँदै लगेको उनको भनाइ छ।
‘ब्याचलर सकेर दुई–तीन वर्षसम्म पनि रोजगारी नपाएपछि उनीहरू बाध्य भएर एजेण्टले जे भन्यो त्यही गर्न बाध्य छन्। उनीहरूलाई थाहा हुन्छ, समस्यामा परिन्छ। प्रहरीको फन्दमा परिन्छ,’ पंगेनीले भने, ‘तर उनीहरू बेरोजगार भएर बस्नुभन्दा पलायन हुनै सही ठान्छन्।’
प्रहरी समक्ष पुग्दैनन् उजुरी
मानव बेचबिखन तथा ओसारपसार हाल नेपालको मात्रै हैन विश्वभरि नै समस्या छ।
केही वर्ष पहिलेसम्म नेपालमा मानव बेचबिखन यौनजन्य क्रियाकलापमा मात्रै हुने बुझिन्थ्यो तर त्यो बुझाई फराकिलो भएको छ।
ब्युरोमा दर्ता भएका मुद्दाहरूको अनुसन्धानबाट मानव बेचबिखनमा संलग्न तस्करीहरूले बिशेषत: दाङ, पर्वत, बाग्लुङ, रुकुम लगायतका जिल्लाका मानिसहरूलाई निशाना बनाउने गरेका छन्।
ब्युरोले तयार गरेको प्रतिवेदन अनुसार मानव बेचबिखनका उजुरीहरू बढ्दै गएका छन्। तर अहिले पनि ब्युरोसम्म पहुँचको कमी, इज्जत जाने डरलगायतका कारण मानिसरहरू उजुरी गर्न नपुग्ने तथा प्रहरीसमक्ष नै सूचना नपुग्ने पंगेनीले बताए।
मानव बेचबिखन अवस्था प्रतिवेदन तयारीका क्रममा ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू एवं प्रदेशिक कार्यालयहरूमा प्रश्नावली मार्फत मानव बेचबिखनसँग सम्बन्धित विभिन्न घटनाहरूसँग सरकारी तथ्याङ्क माग गरिको थियो। जस मध्ये ५३ जिल्ला प्रहरी कार्यालयहरूले मात्रै उक्त पत्रको जवाफ पठाएका थिए।
‘जवाफ प्राप्त भएका ५३ जिल्ला मध्ये २२ जिल्लामा कुनै पनि मानव बेचबिखनका घटनाहरू दर्ता भएका छैनन्,’ उनले भने, ‘उजुरी नभएका आधारमा मानव तस्कर नभएको भने होइन, विभिन्न कारणहरूले प्रहरीसमक्ष उजुरी नआएकोमात्रै हो।’
उद्धार
मानव बेचबिखनका उजुरीका आधारमा गत आर्थिक वर्षमा मात्रै १८८ जनालाई पक्राउ गरि कारबाहीको दायरमा ल्याएको छ। यसैगरी पछिल्लो पाँच वर्षमा एक हजार ७२ जनालाई पक्राउ गरी कारबाही गरिएको छ।
प्रहरीको तंथ्याकअनुसार पछिल्लो पाँच वर्षमा एक हजार ४ सय १० जनालाई उद्धार गरिएकाे छ।
प्रहरीले देशभित्रै घरेलु कामदार, रेष्टुरेन्ट, होटल, कम्पनीमा बेचिएका ७६६ जनालाई प्रहरीले उद्धार गरेको छ।
त्यसैगरी भारतबाट ४६७, अमेरिकाबाट १६, साउदी अरबबाट १, आयरल्याण्डबाट २, ईराकबाट ४, ओमनबाट १६, कम्बोडियाबाट ४, कुवेतकबाट ६१, कोरियाबाट ४, क्रोएसियाबाट १, चिनबाट ४, चेब रिपब्लिकबाट १, टर्कीबाट ३, दुबईबाट १३ जनाकाे उद्दार गरेकाे छ।
यस्तै नेपालकै विभिनन्न ठाउँबाट ७६६, पोचुर्गलबाट ५, पोल्यान्डबाट २, बहराइनबाट १, बेल्जिमबाट २, म्यानमारबाट ५, युरोपबाट २, लक्जेम्बर्गबाट ३, लाओसबाट १०, लिवियाबाट ९, साउथ अफ्रिकाबाट ५, सिरियाबाट १, सिसेल्सबाट १ गरी जम्मा एक हजार ४ सय १० जनलाई उद्धार गरिएकाे प्रहरीको तंथ्याकमा छ।