प्रचण्डले पेश गरेको आरोप पत्र हाेइन, पार्टी विभाजनको आधार पत्र हाे: अर्थमन्त्री पाैडेल

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा विघटन गरेर जनादेशमा जाने निर्णयले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको बताए। उक्त निर्णयले प्रचण्ड समूहको सत्ता कब्जा गर्ने प्रयास असफल भएको नेकपाका महासचिब समेत रहेका पौडेलको भनाई छ।  

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड) प्रदेश २ ले वीरगञ्जको नगरसभा गृहमा आयोजना गरेको प्रादेशिक भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सचिवालय बैठकमा पुष्पकमल दहाल (प्रचण्ड)ले पेश गरेको आरोप पत्र आरोप पत्र नभएर पार्टी विभाजनको आधार पत्र भएको बताए। 

‘उहाँले प्रेस गरेको ३८ बुँदे आरोप पत्र होइन। त्यो पार्टी विभाजनको पत्र हो,’ उनले भने।

आफ्नै पार्टीका शिर्ष तहका केही नेताका कारण पार्टीको आन्तरिक जिवन अनपेक्षित रुपमा दुर्घटनाउन्मुख भएको हुँदा यसलाई दुर्घटनाबाट बचाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको बताए। 

समाजवादका लागि एकताबद्ध भएर अगाडी बढ्ने उद्घोषका साथ एकता भएको पार्टीलाई अस्वस्थ बनाएर लोकप्रिय कामको प्रशंसा गर्नुका साटो खुट्टा तान्ने र आलोचना गर्ने प्रवृतिका कारण देश अहिले संकटमा परेको उनले बताए। 

उनले सुखी नेपाल र समृद्ध नेपालीको सपनालाई साकार पार्ने काममा सघाउन पनि आग्रह गरे। 

‘सबै किसिमका सामाजिक विभेद्हरुको अन्त्य गरि अविकास तथा पछ्टेपनलाई समाप्त गरी सुखी नेपाल र समृद्ध नेपालीको सपनालाई साकार पार्ने काममा सघाउन म आग्रह गर्दछु,’ उनले भने।

अझै पनि प्रचण्डलाई अध्यक्ष पदबाट र माधव कुमार नेपाललाई बरिष्ट नेताको पदबाट नहटाएको हुँदा आरोप पत्र फिर्ता लिएर फर्किए अझै पनि एकता हुन सकिने धारणा उनले राखे। 

‘उहाँहरु अझै फर्किन चहानुहुन्छ भने हामी फर्काउन तयार छौं,’ उनले भने।

बैशाख १७ र २७ गते निर्वाचन हुन्छ कि हुँदैन भनेर दिविधामा नपर्न पनि उनले आग्रह गरे। 

प्रतिपक्षमा जानका लागी संसद विघटन गरेको नभई आगामी निर्वाचनमा पनि आफ्नै पार्टीको जित सुनिश्चिन हुने उनको दावी रहेको छ।

प्रकाशित मिति: : 2020-12-30 17:24:00

प्रतिकृया दिनुहोस्