वीर अस्पतालकी नर्सको कोरोना उपचारको अनुभव

जब अक्सिजन सकिएर ‘साइरन’ बज्छ, मेरो मुटु काम्न थाल्छ (भिडियाेसहित)

कमल प्रभात

काठमाडौँ

जब अस्पतालमा अक्सिजन सकिएको ‘साइरन’ बज्छ, तब एलिसाको मुटुको ढुक्ढुकी बढ्छ।

एलिसासिंह ठकुरी वीर अस्पतालको कोभिड वार्डको आईसीयूकी नर्स हुन्। उनी काम गर्ने ‘आईसीयू’मा अहिले आठ जना कोरोना संक्रमित गम्भीर बिमारी छन्। उनीहरुको सेवामा खटिने नर्समध्ये एक हुन्– एलिसा।

बिरामीको उपचार गर्दागर्दै उनी आफैँ कोरोना संक्रमित भएकी थिइन् तर कोरोनामुक्त हुनेबित्तिकै फेरि ‘ड्यूटी’ मा फर्किएकी छन्। अब त यस्तो भइसक्यो, बिरामीको सेवा नगरी उनी बस्नै सक्दिनन्।

उनले भनिन्, ‘कोरोना लागेर घरमा बस्दा पनि मेरो मन अस्पतालमै थियो। आँखामा अस्पतालका बिरामीको झझल्को आइरहन्थ्यो। त्यसैले निको हुनसाथ फेरि आइहालेँ। मलाई लाग्छ– फेरि उपचारमा फर्कने मेरो मनभित्रको इच्छाले नै मलाई छिटो कोरोनामुक्त बनायो।’

वीर अस्पताल नेपालको एक मात्र केन्द्रीय सरकारी अस्पताल हो। यो देशको सबैभन्दा जेठो अस्पताल पनि हो। सामान्य बेलामा पनि बिरामीको भीड हुने वीर अस्पतालमा अहिले त खुट्टो हाल्ने ठाउँ छैन। कोरोना संक्रमणसँगै वीर अस्पतालमा बिमारीको चाप ह्वात्तै बढेको हो।

कोभिड वार्डको ‘आईसीयूमा’ कार्यरत एलिसालाई आफ्नो जीवनको खासै चिन्ता छैन। उनी सकेसम्म सुरक्षित भएर बिरामीको सेवामा खटेकी छिन्।

उनी सम्झन्छिन्, ‘मेरो आवश्यकता अहिलेजस्तै अवस्थामा हो। त्यसैले सकेसम्म बिरामीको सेवा गर्नुपर्छ। हाम्रो मायाले बिरामी छिटो निको हुन्छन्।’

केही दिनअघि मध्यरातमा अक्सिजनको हाहाकार भएपछिको अवस्था सम्झँदा एलिसा अहिले पनि दुःखी हुन्छिन्। अस्पतालमा बिरामीको चाप बढेकै बेला अक्सिजन सकियो। अनि केही बिरामीको सास फेर्न नसकेर मृत्यु भयो। 

उक्त घटनापछि साँझ पर्न थालेपछि वीरमा कार्यरत स्वास्थ्यकर्मीको मन आत्तिन थाल्थ्यो। अहिले त्यो समस्या हल भइसकेको छ र पनि स्वाथ्यकर्मीको मन भने हल्लाइरहेको छ। 

अहिले अक्सिजनको जोहो प्रायः बिमारीकै आफन्तले गर्नेगरेका छन्। स्वास्थ्यकर्मी बिरामीका आफन्तसँग संयोजन गरेर उपचार गर्छन्। एलिसाले पनि फ्लोरेन्स नाइटिङ्गेलकै आदर्श पछ्याउँछिन्। एलिसाले भनिन्, ‘हाम्रो पूरै ध्यान आईसीयूमा उपचार गरिरहेका कोरोनाका गम्भीर बिरामीलाई कसरी बचाउने भन्नेमा मात्र केन्द्रित हुन्छ। आफूलाई कारोना सर्ला भन्ने डर लाग्दैन।’ उनले भनिन्, ‘कोरोना संक्रमण हुँदैमा बिरामीले डराएर हरेश खानुहुँदैन। मन दह्रो बनाएमा कोरोनालाई सजिलै जित्न सकिन्छ।’

 एलिसा त्यसबेला सबैभन्दा दुःखी हुन्छिन् जब हप्ता–दश दिनसम्म ‘आईसीयू’मा राखेर आफ्नै हातले औषधि–पानी खुवाएका बिमारीको मृत्यु हुन्छ।उनले भनिन्, ‘कसैको निधन भयो भने कहिलेकाहीँ त केही कमी भएर पो बिरामी बाँचेन कि भनेर आत्मग्लानि समेत हुन्छ।’ 

एलिसा त एउटी प्रतिनिधिपात्र मात्र हुन्। वीरमा कार्यरत सबै स्वास्थ्यकर्मीको साझा चिन्ता यही हो। अझ फराकिलो ढंगले हेर्ने हो भने नेपालमै कार्यरत स्वास्थ्यकर्मीको साझा जीवन यही हो।

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ। कोरोना बिरामीको सबैभन्दा बढी चाप परेको वीरका स्वास्थ्यकर्मीका अनेकौँ समस्या छन्।

स्रोत–साधनको कमीको बावजुद वीरका स्वास्थ्यकर्मी नागरिकको सेवामा अहोरात्र खटेका छन्। तीमध्ये धेरैजसो स्वास्थ्यकर्मी स्वयम् पनि कोरोना संक्रमण भएर निको भएका छन्। एलिसालाई जस्तै उनीहरु सबैलाई आफ्नोभन्दा पनि आम नागरिकको ज्यानको बढी माया छ।  

प्रकाशित मिति: : 2021-05-21 19:15:00

प्रतिकृया दिनुहोस्