उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’मा केटाकेटीपन भन्दा फरक नदेखिएको आरोप लगाए।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गरेका हुन्।
‘केटाकेटीले जस्तै जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरिरहेका छन्,‘ उनले भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् होला।’
भट्टले प्रचण्ड जहिले पनि पार्टी र देशमा महाविपत्ती ल्याउने व्यक्ति भएको दाबी गरे।
‘उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ। उहाँमा वैचारिक विचलन आएको छ। पार्टी केका लागि जुट्यो? फुट्यो?,’ उनले भने।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको बताए।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनका घाइतेलाई नसम्झिएको पनि भट्टले आरोप लगाए।
उनले भने, ‘एमाले र माओवादी इतिहास भइसक्यो। आजको नेतृत्व केपी ओली हो।’
भट्टले सडकमा गएर पार्टी एकता नहुने पनि बताए। ओलीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने आँट गरेको उनको भनाइ छ।