उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी मिल सञ्चालकलाई पक्राउ नगर्न नेताहरुले दवाव दिएको बताएका छन्।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले भने,‘उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै फोन आउन थालेको छ। किसानको नाममा वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र?’
कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ उनले खुलाएनन्।
उखु किसानलाई बक्यौता रकम नदिने ४ मिल सञ्चालकलाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी जारी भएको छ।
मंगलवार गृहमन्त्रालयको संमन्वयमा उद्योग मन्त्री, कृषी मन्त्री लगायतको छलफल पछि कृषकलाई बक्यौता नदिने ४ चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।
लगत्तै नवलपरासी, सर्लाही र रौतहट मातहतका जिल्लाले किसानबाट उजुरी लिएर बुधवार पक्राउ पुर्जी जारी गरिएको थियो।
अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारवाही गर्न भनेको छ ।
अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् । त्यस्तै श्रीराम सुगर मिल हितेश गोल्छा र विशाल अग्रवाल तथा लुम्बिनी सुगर मिल श्रेया अग्रवालको हो ।
गृहको निर्देशनअनुसार सुगर मिलका सञ्चालकमाथि ठगीमा मुद्दा चले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना तथा ठगिएको रकम असुलउपर गर्नुपर्नेछ ।