सयौं कोर्रा हान्दा पनि बुबा अडानबाट झुक्नुभएन

बाह्रखरी

काठमाडाैं

१९९७ मा राणा शासनविरुद्धमा उहाँले शोभा भगवतीमा प्रजा परिषद्को सदस्यताको सपथ लिनुभयो ।  ०९७ सालमा विवाह गरेको ४ महिनामा उहाँ पक्राउ नै पर्नुभयो । २००१ सालसम्म उहाँले भद्रगोल जेलमै बिताउनुभयो ।  २००१ सालमा दुईवटा अग्ला पर्खाल नाघेर उहाँ भद्रगोल जेल ब्रेक गरेर उहाँ भारत प्रवासमा जानुभयो । 

प्रजातन्त्रका लागि उहाँको प्रतिबद्धता अत्यन्त बलियो थियो । ६ दशकभन्दा लामो क्रियाशील राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनुभयो । 

१९९७ सालमा पक्राउ परेपछि आजीवन काराबास र सर्वस्वहरणको सजाय सुनाइयो । 

२००१ मा जेल ब्रेक गरेर निर्वासनमा जानुभयो । फेरि २००७ सालको क्रान्तिको तयारीका लागि काठमाडौं आउनुभयो । फर्कने क्रममा ठोरीबाट पक्राउ गरियो । उहाँलाई जेलमा रहँदा कठोर सजाय दिइयो । कोर्रा हान्ने मान्छेले सयौं कोर्रा हानेर बेहोस बनाइसक्दा पनि उहाँ आफ्नो अडानबाट झुक्नुभएन । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरैले दुःख कष्ट भोग्नुभएको छ । कुर्बानी गर्नुभएको छ । तर, (बुबा) गणेशमानजीले भोगेको कष्टदायी जीवनसँग अरु कोही राजनीतिक नेताले खेप्नुभएको कष्टको तुलना हुँदैन । त्यतिधेरै कष्ट उहाँले सहनुभयो । नेपाली जनतालाई रैतीबाट जनता बनाउन गणेशमान सिंहले खेल्नुभएको भूमिकाको म स्मरण गर्न चाहन्छु ।

उहाँ व्यक्तिगतरुपमा भन्दा अत्यन्त सरल हुनुहुन्थ्यो । सबैलाई माया गर्ने । आफूले गर्नुपर्ने काम गर्ने । त्यसको परिणाम के आउँछ भन्नेमा उहाँ धेरै मतलब गर्नुहुँदैनथ्यो । उहाँ कस्तो भने, कोही आएर छोरीको बिहे छ भनेर पटक पटक पैसा माग्यो भने पनि दिएर पठाइदिने ।  किसुनजीहरुले त्यो देखेर पोहोर साल पनि छोरीको बिहे भनेर तपाईंसँग पैसा लगेको थियो, फेरि दिएर पठाउनुहुन्छ भन्नुहुन्थ्यो । 

त्यसबेला बुबा भन्नुहुन्थ्यो–तपाईँ चुप लाग्नुस् किसुनजी मलाई थाहा छ तर पनि सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । बुबाको त्यस्तो बानी थियो ।

प्रकाशित मिति: : 2020-11-09 14:39:00

प्रतिकृया दिनुहोस्