'देश खानू जुझेर, पहाड खानू पूजेर।'
यो उखान प्रचलित छ अछाममा। देश अर्थात् तराई, मधेश वा परदेशका विभिन्न ठाउँ वा सहर। जहाँ कडा परिश्रम बिना, थरीथरी समस्यासँग नजुझेर जीवन गतिमय हुँदैन।
रोजगारी वा अन्य कारणले विदेशिएका वा थातथलो छोडी सहर छिरेकाहरूका संघर्षका कथा पनि भन्छन् 'समस्यासँग लडिबुडी गर्नैपर्छ।'
उसोभए पहाडमा?
पहाडको विकटतामा प्रत्येक डाँडालाई, ढुंगा-ढुंगालाई नपूजेर जिन्दगी चल्दैन। अनेकन् जातजातिले विभिन्न पहाडलाई कसैले गौरीशंकरको रूपमा पूज्ने, कसैले अन्नपूर्ण भनी भाक्ने, कोही कूलदेवता ठान्ने, देवीदेवताको प्रतिरूप मान्ने, देउराली पूज्ने गर्नुले पनि यो पुष्टि गरेकै छ।
तर एकै ठाउँमा जुझ्ने र पूज्ने दुवै काम गर्न सके के होला?
त्यसको उपलब्धि झन् अलौकिक हुन्छ।
यस्तै पहाड पूज्दै, पहाडसँगै जुझिरहेका एक व्यक्ति छन्- अर्जुन बहादुर राना।