पार्टी एकता गम्भीर संकटको मोडमा: बिष्णु पाैडेल

‘अन्तरविरोधले एकताको औचित्य खण्डत हुँदैन’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको बताएका छन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्थमन्त्रीसमेत रहेका पौडेलले आजसम्म आइपुग्दा पार्टी एकताको बाँकी काम पूरा हुन नसेकेकाे कारण एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठ्ने गरेकाे बताएका छन्।

तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने उनले बताएका छन्। 

‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन। तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

आपसी खिचातानीले गर्दा नै पार्टी एकता सम्पन्न भएकाे दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने प्रतिवद्दता समेत पूरा नभएकाे बताए। 

नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ। 

तर कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ भने दुई अध्यक्ष बीच सम्वाद समेत हुन सकिरहेको छैन।

ओली–प्रचण्ड बीच ११ दिन पछाडि शनिबार दिउँसो भेटवार्ता भएको थियो। तर, उक्त भेटवार्तामा समेत कुनै ठोस् सहमति जुट्न सकेन। 

विशेषगरी कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्रिपरिषद् हेरफेर, राजदूतहरुको सिफारिस लगायत केही निर्णयले नेकपाभित्र फेरि जटिलता देखिएको छ।

प्रकाशित मिति: : 2020-11-01 15:25:00

प्रतिकृया दिनुहोस्