गत वर्ष असोजमा पर्साको वीरगन्ज महानगरपालिका-३१ का राम पासवानकी श्रीमतीले एक राति अचम्मको सपना देखिन्। ४० वर्षीया मन्जुदेवीको सपनामा ब्रह्मबाबाले आफ्नो मन्दिर बनाउनु भने रे।
निदाएपछि मान्छेले प्राय: सपना देख्छन्। उठ्दा आधाउधी बिर्सिसक्छन्, नभइ दुई-चार दिनमा त भुल्छन्। मन्जुदेवीले देखेको सपना उनीहरूले कैंयौं दिनसम्म भुल्न सकेनन्। बरू त्यसलाई विपना बनाउने प्रयासमा लागे।
राम र मन्जु जसै राति देखेको सपना पुरा गर्न लागे त्यसले हाम्रो समाजको विपनालाई छताछुल्ल पारिदियो, ऐनामा झैं छर्लंग देखाइदियो। समाजको त्यही विपनाको ऐंठनले राम र मन्जुलाई अहिलेसम्म झस्काइरहेको छ।
मन्जुदेवीको सपनापछि राम पासवानले सोचे- भगवानले आफूहरूलाई मन्दिर बनाउन चुनेका छन्। उनले वडा नम्बर ३१ भेडियाहीमा रहेको ब्रह्मको गोहबरलाई मन्दिरमा परिणत गर्ने सोच बनाए।
त्यसका लागि उनले आफूले जम्मा गरेको झन्डै २ लाख रुपैयाँ खर्चिने निर्णय गरे।
मन्दिर बनाउन आएका मिस्त्रीले कम्तिमा साढे तीन लाख लाग्ने बताए। थप डेढ लाख उनीसँग थिएन। रामले चन्दा उठाउने सोचे।
वरवरका छिमेकीलाई आफ्नो योजना सुनाए। उनको योजना सुनेर गैरदलित छिमकी हाँसे-दलित भएर मन्दिर बनाउने भन्छ! फेरि हामीसँग चन्दा माग्छ।
गैरदलितले हौसला दिनुको साटो खिल्ली उडाएपछि रामले आफ्नै जातका मानिससँगमात्र चन्दा मागे। करिब ५० हजार रुपैयाँ चन्दा उठ्यो। साढे २ लाख रुपैयाँ भएपछि उनले मन्दिर बनाउने आँट गरे।
मन्दिर बनाउन लागेको ठाउँमा १२ टिप (ट्रयाक्टर) माटो खसाले। उनले मन्दिर बनाउन सुरू नै गर्न लागेपछि गाउँकै केही व्यक्तिले विरोध गरे। रामले गाउँलेको विरोधलाई महत्व दिएनन् र इँटा पनि मगाए र गोहवर अगाडि झार्न लगाए।
गाउँका मान्छेले भने 'दलितले मन्दिर बनाउन पाइँदैन' भन्दै इँटा र बालुवा तुरून्त उठाउन दबाब दिए।