यहाँ थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए।
अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए। यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन्। सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये एक हजार १५१ जना निको भएका छन्। रासस