ईश्वर पोखरेलकाे रक्षा मन्त्रालय झिकियाे, विष्णु पौडेल अर्थमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेका छन्।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिशमा विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको हाे।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनीहरु प्रधानमन्त्री ओली निकट हुन्।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन्।

योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ।

यसअघि सरकारमा प्रधानमन्त्रीसहित १९ मन्त्री र तीन राज्यमन्त्री थिए । १९ मध्ये सात साविक माओवादी थिए। सात जना मन्त्री गत मंसिरमा मात्र भएका हुन्।

यसबाहेक पर्यटनमन्त्री योगेश भट्टराई ०७६ साउन १५ र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे ०७६ फागुन ५ गते मन्त्री भएकी हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित आठ जना मन्त्रीले साढे दुई वर्ष पूरा गरिसकेका छन्, तीमध्ये पाँच जना साविक माओवादी छन्। 

संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन।

रक्षा मन्त्रालय खाेसियाे

बुधबार गरिएकाे हेरफेरमा ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएकाे छ।

अब उनी उपप्रधानमन्त्रीमा मात्र सीमित भएका छन्। उनले सम्हाल्दै आएकाे रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैँ सम्हाल्ने छन्। 

पाेखरेलले पाएकाे मन्त्रायलय बिना विभागीयमा पर्छ। अब उपप्रधानमन्त्री बस्ने कुनै कार्यालय उपलब्ध हुने छैन। पोखरेलले अब प्रधानमन्त्रीकै कार्यालयमा बस्नुपर्नेछ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइएका उनी मेडिकल सामान खरिद प्रकरणमा विवादमा आएका थिए। पछि उच्चस्तरीय समिति विघटन गरिएको थियो।

लगत्तै कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसी गठन भएको थियो। मेडिकल सामग्री खरिद प्रकरणमा अनियमिता भएकाे भन्दै  सैनिकसँग उनकाे दुरी बढ्न थालेकाेथियाे। याे कुरा प्रधानमन्त्रीलाई खासै चित्त बुझैकाे थिएन। 

सेनालाई अनावश्यक विवादमा तानेर ‌‌संस्थाको संवेदनशीलतासमेत बिर्सिएको र अपमान गरेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष भेटमा गुनासो समेत गरेका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेलको कार्यदक्षता र कमजोर प्रस्तुतिका कारण सरकारकाे नै बदनामी भएकाे भन्दै मन्त्रीपरिषद्काे बैठकमा कुरा उठ्ने गरेकाे थियाे।

पाैडेललाई अर्थ मन्त्रालय

प्रधानमन्त्री ‌ओलीले बिष्णु पौडेललाई नियुक्त गरेका छन्। नेकपा महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री ओली अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

महासचिव पौडेल केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला ०७२ कात्तिक १९ गतेदेखि ०७३ साउन १७ सम्म अर्थमन्त्री भइसकेका नेता हुन्। उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन्। उपाध्यक्ष वामदेव गौतमसँग पनि उनको घनिष्ठ सम्बन्ध छ।

 त्यसबाहेक कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि उनको सम्बन्ध राम्रो छ  भने वरिष्ठ नेता नेपाललाई उनी 'सम्मान' गर्छन्। अर्थात्, उनी नेता नचिढ्याउने र मिलनसार स्वभावका नेता हुन्। त्यसैले पार्टी एकताका बेला दुई पटक महासचिव भएका ईश्वर पाेखरेललाई एकीकृत पार्टीको महासचिव नबनाएर दुवै अध्यक्षले पौडेललाई महासचिव बनाउने निर्णय गरेका थिए।

पछिल्लो समय पार्टी विभाजनको संघारमा पुगेको बेला एकता टुट्न नदिन उनले अत्यन्त मेहनत गरेका थिए। 

भाेलि सपथ ग्रहण

नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण बिहीबार हुने भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार बिहीबार बिहान ११ बजे शपथ ग्रहणका लागि तयारी गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। 
 

 

प्रकाशित मिति: : 2020-10-14 17:50:00

प्रतिकृया दिनुहोस्