कोरोना संक्रमित बाहिर हिँडडुल गरे ६ महिना जेल, दसैं अनलाइनबाटै मनाउन आग्रह

सरकारले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ। 

कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना लक्षण नभएका र पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्केर हेलचक्रयाँइ गरेको पाइएकाले कारबाही हुन सक्ने बताए।

आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार नियम उल्लंघन गरेको पाइएमा ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने गौतमको भनाई छ।

‘हामीले गृह मन्त्रालयसँग र जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशनमा नबस्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेका छौं,’ उनले भने।

यस्तै डा गौतमले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन र अनलाइन वा फोनबाट नै यो वर्षको दसैं, तिहारको आशीर्वाद लिन आग्रह गरे।
 

प्रकाशित मिति: : 2020-10-09 18:12:20

प्रतिकृया दिनुहोस्