कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त

खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिए।

सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताए। 

उनले सबै कुबेती नागरिकलाई आआफ्ना मतभिन्नता त्याग्न पनि आग्रह गरे। 

गत साता कुबेती अमिर शेख सबाह अल–अहमदको निधन भएपछि नयाँ अमिरले संसद समक्ष सपथ लिएका थिए। 

राजपरम्परा अनुसार नयाँ अमिर छानिए पनि कुबेतको संविधान बमोजिम नयाँ अमिरलाई संसदले नियुक्त गर्ने र संसद समक्ष सपथ लिने व्यवस्था छ। 

शेख मेशाल हाल ८३ वर्षका छन्। कोभिड–१९ का कारण तेलको मूल्यमा आएको गिरावट एवं छिमेकी मुलुकहरु साउदी अरेबिया र इरानसँग तनावपूर्ण सम्बन्ध रहेका कारण कुबेत सरकारमाथि दबाब छ। 

टेलिभिजनमा दिएको प्रतिक्रियामा नयाँ अमिर शेख मेशालले कुबेतले क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्मान गर्ने तथा शान्ति र लोकतान्त्रिक मार्गलाई स्वीकार गर्ने बताएका छन्।

अरब राष्ट्रहरुमा शासन गरिरहेका अमिरहरुले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको अवस्थामा कुबेतमा भने पुरानै पुस्तामा नेतृत्व गएको छ। 

कुबेतमा यसै वर्ष संसदको पनि चुनाब हुँदैछ। कुबेतको सरकारमा सत्तासिन अमिरका परिवारका सदस्यहरुले महत्वपूर्ण मन्त्रालय र पद प्राप्त गरेकोप्रति कुबेतमा असन्तोष बढ्दै गएको छ। 

कुबेतका नयाँ अमिरले नयाँ तेल नीति ल्याउने र विदेश नीतिलाई प्रभावकारी रुपमा संचालन गर्ने विश्वास जनताले गरेका छन्। उनीहरुले साउदी अरेबिया, इरान र इराकसँगको सम्बन्धमा बढी सन्तुलन कायम गर्ने विश्वास पनि लिएका छन्। 

प्रकाशित मिति: : 2020-10-08 16:03:45

प्रतिकृया दिनुहोस्