डब्लूएचओको नेपाल प्रतिनिधिमा डा. राजेश समबाजीराव पाण्डव

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल प्रतिनिधिका रुपमा डा. राजेश समबाजीराव पाण्डवलाई नियुक्त गरेको छ। 

हालै नियुक्त भएका डा. राजेशले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

यसअघि डा. जोस भ्यान्डिलियर डब्लूएचओको नेपाल प्रतिनिधिका रुपमा कार्यरत थिए।

डा. राजेश असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका थिए। 

नेपाल आउनुपूर्व, डा राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर(लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए। उनले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर काम गरेका छन्।

विगतमा उनी विश्व स्वास्थ्य संगठन, टिमोर(लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११—मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठन माल्दिभ्स कार्यालय (सन् २००९—२०११), विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयको मानसिक स्वास्थ्य तथा लागूऔषध दुरूपयोग इकाइमा मेडिकल अधिकृत (सन् २००४—२००९)को रूपमा कार्यरत थिए।

विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुपूर्व, डा. राजेश संयुक्त राज्य अमेरिकास्थित पिट्स्बर्ग विश्वविद्यालय मेडिकल सेन्टरअन्तर्गत वेस्टर्न साइक्याट्रिक इन्स्टिच्युट एण्ड क्लिनिकमा वरिष्ठ अनुसन्धान सहायकको रूपमा कार्यरत थिए।

डा. राजेशले नेपाल सरकार र डब्लूएचओले ५० वर्षमा बलियो साझेदारी विकास गरेको उल्लेख गरेका छन्। 

‘मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउनेतर्फ पहल गर्नेछु,’ उनले भने।

नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिँदै डा. राजेशले भने,‘सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चित गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ। विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा म चिन्तित छु। यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ।’

विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्दै र नेपालका जनतालाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त गर्दै उनले भने, ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु। भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ।’

त्यसैगरी उनले युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने पनि बताए।

प्रकाशित मिति: : 2020-10-08 14:08:18

प्रतिकृया दिनुहोस्