राजधानी विवादः रुपन्देहीका २ हजार बढी उद्योग–व्यवसायीद्धारा नेकपा परित्याग, सरकारी सबै कार्यक्रम बहिस्कार गर्ने  

बुटवललाई प्रदेश ५ को स्थायी राजधानी नबनाएको विरोधमा रुपन्देहीका नेकपासम्बद्ध २ हजार २ सय ४९ उद्योग–व्यवसायीले एकैपल्ट पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन्। 

मंगलबार उनीहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपाको सदस्यता त्यागेको घोषणा गरे। 

उनीहरूले प्रदेश सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उद्योग–व्यवसायीको सहभागिता नरहने पनि घोषणा गरेका छन्। संघ–संस्था सञ्जाल, रुपन्देहीका अध्यक्ष यमलाल लोहनीले भने, ‘हामी प्रदेश सरकारको कुनै पनि कार्यक्रममा भाग लिने छैनौ र आफ्नो कार्यक्रममा पनि प्रदेश सांसदलाई बोलाउने छैनौं।’

उनले सबै उद्योग–व्यवसायीले पार्टी परित्याग गरेको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाइने जानकारी दिए। 

प्रदेश–५ सरकारले असोज १६ मा दाङमा राजधानी बनाउने प्रस्तावअघि सारेको थियो। यसको विरोधमा रुपन्देहीका उद्योग–व्यापारीहरू सडकमा उत्रिएका थिए। सोमबार विपक्षी नेपाली कांग्रेसले संसद भवनभित्र सांसदहरूको कुर्सी तोडफोड गरेर ठूलो बितण्डा मच्चाएको थियो। 

उद्योग–व्यवसायी सञ्जालमा उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघ–संस्था आवद्ध छन्।

पार्टी परित्याग गर्नेमा उद्योग–व्यवसायका अगुवाहरू बाबुराम बोहोरा, मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, राजेन्द्र ढकाल, कृष्ण घिमिरे लगायत छन्।

प्रकाशित मिति: : 2020-10-06 15:47:20

प्रतिकृया दिनुहोस्