मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार

विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ: मुख्यमन्त्री पोखरेल

प्रदेश ५ को राजधानीको विषयलाई लिएर मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुंगा प्रहार गरेका हुन्।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले उनलाई कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट मुख्यमन्त्री पोखरेल चढेको गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति पुगेको बताइएको छ।

यसैबिच प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य बिष्णु पोखरेल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की र पत्रकार कमला पाण्डे छन् ।

प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको  स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

बुटवलबाट दाङ राजधानी सार्न लागेको विरोधमा स्थानीयले आइतबार बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन्। 

यसैबिच प्रदेश पाँचका मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोविज्ञान तयार पारिने बताए ।

उनले भने, ‘बुटवलबाट राजधानी सार्न लागेको होइन ,भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीं रहन्छ, राजधानी सर्ने भन्दा पनि नयाँ पुस्ताका लागि नयाँ ठाउको विकास गर्न लागिएको हो ।’

मुख्यमन्त्री पोखरेले राजधानी कहाँ रहने भन्ने बिषय प्रदेशसभाले तय गर्ने कुरा भएको जनाउँदै पार्टीका शीर्ष नेताहरूसँग छलफल भइरहेको पनि बताए ।

उनले बुटवलबाट राजधानी सार्न खोजेको भन्दै पार्टी महासचिव विष्णु पौडेलप्रति भैरहेको टिकाटिप्पणी प्रति असन्तुष्टि समेत जनाए । साथै उनले राष्ट्रिय राजनीतिको एक सम्मानित व्यक्तिमाथि प्रदेश राजधानीको बिषयलाई लिएर गरिने टिप्पणी अशोभनीय भएको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले प्रतिपक्ष दललाई समेत सहमतिमा लिएर यस बिषयमा अघि बढ्ने बताए ।

यसैबीच महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दहाललाई प्रदेश पाँचको राजधानी बुटवलमै राख्नुपर्ने माग गरेका छन् ।

प्रदेश पाँचका मुख्यमन्त्री पोखरेल सहित नेता जनार्दन शर्माको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षसँगको भेटमा महासचिव पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2020-10-04 23:48:00

प्रतिकृया दिनुहोस्