कोरोनाबाट विश्वभर तीन करोड ४२ लाख संक्रमित, १० लाख १९ हजारको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख १२ हजार ३८१ पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६२ हजार निको भएका छन् भने करिब ७७ लाख ३० हजार ४९४ मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६५ हजार ९४३ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७४ लाख ५१ हजार  नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ८०५ को मृत्यु भएको छ । 

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख १२ हजार ५८४ सङ्क्रमित भएका छन् भने यहाँ ९८ हजार ७०८ को  ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख १३ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४३ हजार ९६२ को मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ८९१ सङ्क्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 

प्रकाशित मिति: : 2020-10-01 19:30:58

प्रतिकृया दिनुहोस्