बाँकेमा बुधबार थप एक कोरोना संक्रमित महिनाको मृत्यु भएको छ।
भेरी अस्पतालमा रहेको आइसोलेसनमा उपचाररत नेपालगञ्ज उप–महानगरपालिका १ धम्बोजीकी ३५ वर्षीय महिलाको मृत्यु भएको हो।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि असोज २ गते अस्पतालमा भर्ना भएकी थिइन्।
अस्पतालमा भर्ना हुने वित्तिकै कोभिड–१९ आइसोलेसन सेन्टरमा भर्ना भएकी उनलाई असोज ३ गतेकोरोना संक्रमण पुष्टि भएको थियो।
उनलाई कडा खालको कोरोना संक्रमण देखिएको भएपनि मृत्युको खास कारण भने दुवै तर्फको फोक्सोमा निमोनिया भएको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा कोरोनाका कारण सबै भन्दा बढि नेपालगञ्ज उप–महानगरपालिकाका नागरिकको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाका कारण बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुर र बैजनाथ गाउँपालिकाका १/१ जना र कोहलपुर नगरपालिकाका २ जनाको मृत्यु भएको छ।
नेपालगञ्जमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ।