नेदरल्यान्डद्वारा ताङतिङको पर्यटनमा सहयोग

पर्यटकीय नक्सा, बुकलेट, पोस्टर र भिडियो सार्बजनिक 

कास्कीको मादी गाउँपालिका वडा नं. २ मा रहेको रमणीय गाउँ ताङतिङको होमस्टे प्रवद्र्धन तथा ग्रामीण पर्यटनको विकास गरी स्थानीय जनताहरुको जीवन स्तर उकास्न नेदरल्याण्ड स्थित सि.एफ.पि. ग्रिन विल्डिङले सहयोग गरेको छ। 

स्थानीय ग्रामीण जनताको लागि उज्यालो बहुउद्देश्यीय सिकाई केन्द्रको प्राविधिक सहयोग तथा सि.एफ.पि. ग्रिन विल्डिङ नेदरल्यान्डको आर्थिक सहयोगमा ताङतिङको १४ वटा होमस्टे तथा ५ वटा होटलहरूलाई लो वेड ,फर्निचर कुर्ची, टेबल, र रविस विन उपलब्ध गराइएको छ।  

यस्तै प्रकारले ताङतिङ ग्रामीण पर्यटन विकास वृत्त चित्र निर्माण , ताङतिङ पर्यटन विकास सम्बन्धी वेवसाइट निर्माण, ताङतिङ पर्यटन नक्सा, ब्रोसर ,पोष्टर तथा बुकलेट उत्पादन गरिएको छ।  

ताङतिङ गाउँको प्रचार प्रसार तथा ग्रामीण पर्यटनको विकास गर्नलाई वृत्त चित्र, वाइवसाइट र अन्य ताङतिङ पर्यटक नक्सा, बुकलेट ब्रोसर र पोष्टर महत्त्वपूर्ण हुने कुरामा यहाँको पर्यटन व्यवसाय, जनप्रतिनिधि सबैले विश्वास लिएको छ । ताङतिङको पर्यटक नक्सा, पोष्टर, ब्रोसर र ताङतिङ ग्रामीण पर्यटन किताब ४१ औ  विश्व पर्यटन दिवसका अवसरमा  पोखरामा सार्बजनिक गरिएको छ। 

फेवाताल किनारमा गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्साल, प्रदेश सभासद् राजीव पहारी र पोखरा महानगरपालिकाको मेयर मानबहादुर जी.सीले संयुक्त रुपमा सार्बजनिक गरेको मादी गाउपालिका–२ का वडाध्यक्ष एकजंग गुरुंङले जानकारी दिए।

यसरी पर्यटन विकासका काममा सिएफ.पि. ग्रिन विल्डिङ नेदरल्यान्डले सत्र लाख पचहत्तर हजार रुपैयाँ सहयोग गरेको ग्रामीण जनताका लागि उज्यालो बहुउद्देश्यीय सिकाइ केन्द्रका अध्यक्ष एवं ताङतिङका पर्यटन अभियन्ता प्रकाश गुरुङले बताए। 

प्रकाशित मिति: : 2020-09-29 13:26:50

प्रतिकृया दिनुहोस्