…त्यसपछि ४१०० मिटरमा नेपथ्यको गीत गायौं

सुवास राई

रुकुम पूर्व
Break n Links
Break n Links

हिँडाईको सवालमा महेश सर पछि भएपनि बिहान सबैभन्दा छिटो उठन हुन्छ। सायद आजपनि उहाँ छिटो उठ्न भएको हुनपर्छ। म बिउझिँदा साथीहरू भान्सा कोठामा गफ गर्दै रहेछन्। अध्यारो भएकोले मलाई उठाउन ओछ्यानमा नआएको होला नत्र केटाहरू बगेको पानी जम्ने जाडोमा पनि सिरक तान्ने कठिन कार्य गर्न अगाडि सर्ने बानी छ।

सबैभन्दा पहिले दुखाइको महसुस हुन्छ। यसो कोल्टे फर्किन खोज्छु झन दुखाइ हुन्छ। हिजोको १३ घण्टा भन्दा धेरै हिडाई सम्झन्छु त्यति विघ्न हिँडिएको रहेछ। अनि यतिको दुखाइ ठिकै हो। तर मनमा आज कति हिड्न पर्ने हो अझ हिउँमाथी हिड्न पर्ने छ। साथीहरूलाई दुखाइ जति सुनाए पनि केहि हुने वाला थिएन र चुपचाप सहे तर साथीहरूले खुट्टा दुख्यो भन्न हुँदै थियो। मैले केहि गर्नसक्ने अवस्था पनि थिएन। साथीहरू उठेर तातो पानी पिइसकेर चिया पिउँदै रहेछन। रातिको हिडाईले खुट्टामा दुखाई थियो तर गन्तव्यमा पुग्न उठ्नै पर्ने हुन्छ। बाहिर उज्यालो भए पनि घर भित्र अगेनामा बालेको आगोको प्रकाश प्रयाप्त छैन। छेउमा दियालो जोडले बल्दैछ तर पनि उज्यालो मधुरो छ। छेउको भाँडामा फर्सी पाकेको छ। त्यो फर्सी खाजा खाएर काममा जान्छन् होलान् मलाई फर्सी मागेर खान मन हुन्छ। तर माग्न मुख लाग्दैन हेरेर चित्त बुझाउछु।

म भन्दा धेरै छिटो उठेका साथीहरूले मुख धुन भयो भएन थाहा भएन तर मैले मुख धोइनँ। तातो पानी र चिया बिस्कुट खाएर हिड्दा ६ः३० बजिसकेको थियो। जमिनमा उज्यालो झरिसकेको थियो। तर हिजो राति कराउने पल्लो भेडिगोठको कुकुरहरू अझै कराउदै थियो। हिड्ने बेलामा बिदा चाहि धेरै पुरानो आफन्त सङ्ग बिदाई मागे जस्तो हुन्छ। एउटा बटुवाको रुपमा राति आएको अन्जान मान्छे बिहान छुट्ने समयमा धेरै घुलमिल भएछौं। घस्दुङखोला नजिकै सुसाईरहेको थियो। सँगै मुटु कटक्क खाने सिरेटोले खोला संगै लय मिलाउँ थियो। पारीतिर अजङ्गको पहाड उभिएको छ त्यो पहाडको छातीमा कुल्चिएर जान छ। त्यो सिरेटोको अनभव गर्दै छिटो(छिटो हिड्ने कोसिस गरे पनि खुट्टाको दुस्खाईले पाइला चाल्न सहज छैन।

पाँच मिनेट हिडेपछि घस्दुङखोला पुगिन्छ। खोलामा पूर्वी रुकुमको मान्छेको मन जस्तै निश्चल पानी आफ्नै गतिमा बगिरहेको छ। सायद पानीलाई पनि समुन्द्रले पर्खिरहेछ तर व्यवस्थित रुपमा खोलामा झोलुङ्गे पुल लगाईएको छ। खोला तरेर पाँच मिनेट खोलाको किनार हिडेपछि सुरु हुन्छ कहालीलाग्दो उकाली। घना जङ्गलको बाटो भए पनि कुनै रौनक छैन। बिहानीको संकेत गर्दै चिरबिर गर्ने चरीहरू छैन सुनसान छ। हेर्दा टोपी खस्ने ठुल्ठुला रुखहरू छन् कुनै रौनकता छैन। सायद अत्यधिक जाडो छल्न चराहरू पनि बसाईं सरेका होलान्। माघ ४ गते तकसेरामा ड्रोन उडाउदा ड्रोन पछाउने चिलहरू यतैतिरबाट गएका होलान्। हिजो यामखारमा घुम्ने गिद्दहरू पनि यतै तिर बाट गएका होलान्। खोलामा बग्दा बग्दै गरेको पानी जमिएकोले प्यासले जङ्गली जनावरहरू पनि बसाइँ सरेको हुन पर्छ तर हामी प्रकृतिको उल्टो तिर उभैउँभो जादैछौं।

यत्रो मुल बाटोमा हिड्ने यात्रीहरू कोहि छैनन्। माथी हिमालदेखि डाँडाहुँदै बिस्तारै घाम तलतिर झर्दैछ। खोलाहरू बिस्तारै बरफसङ्ग बग्दैछन्। हामी उकालो हिड्दैछौं। रबिन सर र सुरज सर मेरो अगाडि हिड्न हुँदैछ। पछाडि महेश सर हिड्न हुँदैछ हाम्रो हिडाइको क्रम जारी छ। हिड्न हामी सबैलाई गाह्रो छ। तर एक अर्कालाई हेराहेर गरेर खुइया लगाउन भन्दा अरु केहि भन्न सकिएको छैन। सबैको हालत एउटै थियो। बिश्राम लिँदै। भञ्ज्याङ्हरू छिचोल्दै हाम्रो पाईलाहरू अगाडि बढ्छन धेरै बोल्ने जागर छैन। भए पनि त्यो इनर्जी बचाउन छ। आजको दिन उकालो हिड्न पर्ने छ कति हो यकिन कसैलाई थाहा छैन यति हो दिन भर हिड्न छ।

हिड्दा हिड्दै गोब्रे सल्लाको रुखहरू देखेर मलाई बाल्यकाल भोजपुर गाउँको याद आउँछ। मेरो गाउँदेखि माथी मैयुङडाडा पारगरेर घरको छानाको लागि गोब्रे सल्लाको काठ काट्न गाउलेहरू जान्थे। म पनि दुई पटक काठ बोक्न गएको थिएँ।आजभोलि सबैको घरमा जस्ताको छाना छ। त्यसरी काठ काट्न र बोक्न जान पर्दैन। यहाँका सल्लाका रुखहरूले मलाई अतित सम्म फर्काइदियो। साथै मेरो गाउँका आफन्तहरूलाई पनि एक पटक सम्झिन पुगे। याद गर्नको लागि मान्छेको जरुरत पर्दैन परिवेशले पनि बितेका कुरालाई ताजा गराईदिने रहेछ।

घामको स्पर्शले वातावरण न्यानो हुँदैछ जमेका पानीका खोल्साहरू बिस्तारै बग्दैछ। पसिनाले शरीर निथ्रुक्कै भिजाएको छ शरीरलाई पानीको आवश्यक्ता छ। त्यहीं बग्दै गरेको पानी बोतलमा थाप्छु र सुरज सरलाई दिन्छु। प्यासको बेला ठुलो घुड्की लगाउन भएछ। दाँत र घाँटीमा सहि नसक्न चिसो लागेछ। यो पानी नखाउ भन्न थाल्नभयो। हामीलाई तत्काल पानीको जरुरत छ खान नै पर्छ। यतिकैमा मैले एउटा तरिका सम्झे रक्सी खाए जसरी थोरै थोरै पानी निल्दा तेस्तो धेरै चिसो हुन्न। हामीले त्यही गर्यौंं।

बाटामा कतै पग्लिन बाँकी हिउँका थुप्रोहरू छ्न त्यसलाई कुन्चिँदै रोमान्चित हुदै अगाडि बढ्दै गर्दा अगाडि हिड्न भएको रबिन सर एक्कासी कराउँन हुन्छ। प्रष्ट बुझिँन्दैन सायद ठाकुर आइपुगियो। म पनि खुसी हुन्छु हाम्रो पहिलो गन्तव्य भेटियो भनेर। यसो हेर्दा समतल परेको फाँट देखिन्छ। अलिक अगाडि बढेपछि एउटा घर देखिन्छ तर त्यो घरको ढोकामा ताल्चा लगाएको छ वरिपरी हेर्छु रबिन सरलाई देख्दिनँ। अरु घरगोठहरू थुप्रै छ तर तिनिहरू सुनसान छ। रबिन सर माथि कुना तिर कराउन भयो। तेहि रहेछ भनेर फेरि खुसी लाग्यो। त्यहा हाम्रो लागि खाना पाक्दै थियो। बिहानको ९ बज्न लागेको थियो। तर हामीलाई हिजो बेलुका छ बजे खाएको खानाले छोडिसकेको थियो।

त्यस फाँटको एकातिर घाम आईसकेको थियो बिहान चिसोले सताएको शरीरलाई घामले न्यानो बनाउन तिर लाग्यौंं। फाँटको बिच भागमा खोला बग्दो रहेछ एकैछिनमा बग्दै गरेको खोलामा हिउँ पग्लिन बाकि रहेछ त्यहीँ फोटो र भिडियो खिच्न थाल्यौंं। त्यतिबेला सम्म घामको किरण धेरै झरीसकेको थियो। अघि छाँया परेको रहेछ। अहिले अलिकति देखियो हामीलाई खाना पकाइदिने घर पल्लो कुनातिर रहेछ। घरको छानादेखी धुवाँको मुस्लो हावामा मिलन हुँदैछ। म त्यतातिर छिटोछिटो पाईला चाल्छु रबिन सर गएर तातो पानी तताउदै हुनहुँदो रहेछ, दाईहरूले दाल र तरकारी पकाईसक्न भएछ अब भने खाना पकाउने तयारी गर्नहुँदै थियो।

हामीले तातोपानी सकेसम्म धेरै खाने कोसिस गर्यौं बिहानदेखि हिड्दा हाम्रो शरीरमा पानीको कमि भइसकेको थियो। दिनभर हिड्न पर्ने थियो। अर्को खुसीको कुरा त्यहाँ शोलार जडान गरिएको रहेछ। हामीले पालैपालो मोबाइल, गोप्रो र ड्रोन चार्ज गर्यौं। हाम्रो लागि सबैभन्दा सन्तुष्टिको कुरा थियो। अब हामीले मन लाग्दो फोटो भिडियो खिच्न सक्ने भयौं। आज रातै परेपनि लाइट बालेर भए पनि हिड्न सक्ने भयौंं।

म भन्दा अगाडि महेश सर ट्वाइलेट जानु भएको थियो उहाँले कसरी सफा गर्नु भयो थाहा भएन। अथवा बस्नु भएन? तर म जाँदा ट्वाइलेटको लागी राखेको पानी पूरा बरफ भएर जमेको थियो। अब के गर्ने आपत आइलाग्यो। फेरि यसो सोचें त्यत्रो बगेको खोलामा चिसोले माछा बस्न सक्दैन भने बरफले पुछ्पाछ गरे कीटाणु मरिहाल्छ भन्ने सोच बनाएर त्यसै गरें। पानी राखेको ड्रमलाई कोल्टे पार्दा अलि बरफ पग्किएको तिरतिरे पानी जम्मा भयो पुछ्पाछ गर्न तेसैले काम चलाएँ। हातधुने साबुन थिएन। खोज्न पनि मन लागेन। हामीले आफै बोक्नु पर्ने हो त्यसरी बोकिएनँ। घस्दुङखोला जङ्गलमा सुरज सर बोतलमा पानी बोकेर जङ्गल जानु हुदै थियो सबभन्दा उहाँलाई सजिलो हुनुपर्छ। हामी दुईजना नियम मान्ने भएर दुःख पायौंं।

खाना खाई सकेपछि ड्रोन फुटेज खिच्दा दाईहरू पनि निक्कै चाख मानेर हेर्न भयो। ठाकुर समुन्द्र सतहदेखि ३३३३ मिटरको उचाइमा रहेको छ। फागुने धुरी पुग्न ७ किलोमिटर उकालो हिड्नु पर्ने रहेछ। घर बाहिर घाम ताप्दै मनोरम प्राकृतिको आनन्द लिदै खाना खान सुरु गरियो। हिजो पेल्मामा तिन प्लेट राँगाको सुकुटी भुटेर बोकेको थियौंं। त्यो पनि तताउन लगायौं। तर खाई सक्ने बेलामा भैंसी र राँगाहरू पालेको कतै देखिएनँ। फेरि राँगाको सुकुटी भनेर दिनुभयो। हामी एकछिन हेराहेर गर्यौं। यतिकैमा रबिन सरले जे सुकै होस मिठो छ खाईदिउँ भनेर खायौंं। खाना खाएपछि झपक्क निन्द्रा लाग्दै थियो। सुत्ने भन्ने कुरै छैन ११ः१५ मा हिड्न सुरु गर्यौं।

जति उकालो हिड्यो त्यति हिड्न गाह्रो हुँदै जान्छ। म भन्दा पछि महेश सर हिड्नु भएको थियो। उहाँलाई मैले तपाईं हिड्नु पर्छ यदि हिड्न सक्नु भएन भने तपाईंलाई पनि मदनलाई जस्तै एक्लै छोडेर हिड्न बाध्य हुनेछौं भनेर डर देखाएँ। उहाँले कति पत्याउनु भयो उहाँलाई थाहा छ। समुन्द्री सतहदेखि ३५०० मिटरको उचाईमा सिधा उकालो हिड्दैछौं एकैचोटी नाक, मुख र कानबाट स्वास लिदै फाल्दै गर्दा फोक्सोलाई अक्सिजन नपुगेर अवस्था नाजुक बन्दैछ। गफ गर्न सक्ने स्थिति छैन, काठमाडौंबाट हिड्दा हाम्रो यात्रा तकसेरासम्म मात्र थियो। त्यसैले हामीले त्यस्तो तयारीका साथ हिडेका थिएनौं। यति उचाई जान मलाई डाक्टरले अनुमति दिनु हुन्न थियो होला। तर अहिलेसम्म त्यस्तो केहि अप्ठ्यारो भएको अनभुति गरेको छैन र नहोस् भन्ने मनमनै कामना गर्छु। साथीहरूले तपाईं बिरामी मान्छे फटाफट हिड्नु हुँदैछ भन्छन् तर मनमा कतै बिरामी हुन्छु कि भन्ने डर छ।

अगाडि बढयौं। उकालो सकिएर हल्का तेर्सो हिड्नु पर्ने भयो। मैले चुन्वाङदेखि बोकेर ल्याएको सुन्तला तीनवटा बाँकी रहेछ निकालेर साथीहरूलाई एक एक दाना दिएँ। साथीहरू खुसी हुनुभयो। मलाई रबिन सरले चकलेट दिनुभयो। महेश सरलाई मलाई भन्दा धेरै गाह्रो भएछ। उहाँले गुनासो पोखाउन थाल्नुभयो- मुला केटाहरू छाडा बोल्न पर्ने ठाउँमा बोल्दैनन्, नबोल्न पर्ने ठाउँमा दिनभर बोलि बस्छन्। मलाई हाँस्न मन थियो तर हामीले शरीरमा इनर्जी राख्नु पर्ने भएकोले पान्डेय सरको आँखामा आँखा जुधाएर सहमती जनाइदिन्छु। हामी ठाउँठाउँमा हिउँ खेल्दै उत्तरतिर देखिने क्रमशः पुथा,चुरेन र धौलागिरी हिमालको मनोरम दृश्य हेर्दै अगाडि बढ्यौंं।

करिब दुइ बजे हामी पाटनमा पुगिसकेको थियौंं। परसम्म देखिने पाटनहरूमा खाली गोठहरू, सुकेको घाँस र कतैकतै जमेको हिँउहरू मात्र देखिन्थ्यो। सायद बैशाखदेखि हरियाली सँगै फूलहरू फूल्छ्न् होला। पाटनमा भेडा, घोडा, गाईगोरु र यार्सागुम्बा खोज्ने मान्छेहरूले पाटन श्रृङ्गारिन्छ होला। सोच्दै अगाडि पाइला चाल्दै गर्दा फागुने धुरी नजिक पुगेको हुन्छौं। झोला बिसाएर भुटेको मकै भटमास खादै पछि यार्सागुम्बा टिप्ने समयमा फेरि आउने सल्लाह गर्छौं। यतिकैमा हिजोदेखि हामीले खाएको सुकुटी के को हो भनेर विभिन्न अड्कल गर्छौं। ०६६/६७ सालतिर काठमाडौंको साना होटल र खाजाघरमा मनाङ/मुस्ताङबाट ल्याएको मृगको सुकुटी खाने मान्छे धेरै जम्मा हुन्थे। तर त्यो सुकुटी मृग नभएर भारी बोक्न नसक्ने खच्चर को थियो रे भन्दै मेरो दाई र काकाहरूले एक महिनासम्म मासु छोडेका थिए। मैले त्यही घटना सम्झेर उता फर्किएर बिस्तारै हाँसेँ। सबैभन्दा धेरै प्रतीक्षा गरेको स्थान पुग्दैगर्दा मनमा असीमित खुसी र उत्सुकता छ। छिटोभन्दा छिटो धुरीमा पुग्नु मन छ। तर खुट्टा छिटो चल्दैन। थकानसँगै ४१०० मिटरको उचाईको हावाको वेगले रात परेको सङ्केत गर्दैछ।

मध्याह्न १२ बजेपछि हावा चल्न सुरु हुन्छ रे। बेलुकासम्म तीव्र गतिमा हावा बहँदो रहेछ। फागुने धुरी पुग्नको लागी हामीले जाडो, रातदिन, भोक-भोकै,निन्द्रा थकाइ नभनी पसिनाका धाराहरू बगाउँदै आइपुगेका थियौंं। उचाइको कारणले होला हामीले भएभरको   खुशी व्यक्त  र साटासाट गर्न  सकेनौं। हामीलाई हावाको वेगले सताइ रहयो। ड्रोन उडाउने संभावना थिएन तर फोटो र भिडियो  प्रशस्त खिच्यौं। पुर्बी रुकुम र बाङलुङ जिल्लाको सीमाना यहि फागुने धुरी हो। ढोरपाटन शिकार आरक्षण पूर्बी रुकुम बाङ्लुङ र म्याग्दी जिल्लामा पर्छ। हामीले ६ दिन लामो पूर्बी रुकुमको बसाईंलाई बाग्लुङतिर सार्दै थियौंं। जिवनभर सम्झिरहने र फेरि फर्कि आउने बाचासहित नेपथ्यको गीत चिच्याउँदै गायौं। फागुनेको धुरी… चलिरहन्छ हुरी…। अब हामी ४१०० मिटरको चिसो बतास छाडेर ओरालो  यात्रा सुरु गर्छौं।

११ किलोमीटर हिड्न पर्ने हुन्छ बाटो जतिसुकै लामो होस् मतलब भएन तर आज पनि राति हिड्नु पर्ने निश्चित थियो। नेपालका चर्चित नेपथ्य ब्याण्डका मुख्य सदस्य अमृत गुरुङले शिरफूल शिर्षकको गीत यहि फागुने धुरी हुँदै बुकी, पुपाल पाटन हुँदै यामखार, पेल्मा, मैकोट, तकसेरा हुँदै ढोरपाटनसम्मका भूगोललाई समेटेर लेख्नु भएको छ। बेलुकीको ४ बज्न लागेको थियो। हामीलाई उकालोभन्दा ओरालो झर्न सकस भयो हिउँ पग्लिएर चिप्लो र हिलाम्मे बाटो खोलाको किनार हिड्नु पर्नेछ। दुखेको खुट्टामा झन पिडा हुन थाल्यो। आफैंले रोजेको दुख भएर होला कसैलाई सुनाउन मन लाग्दैन।

रबिन सर र म फटाफट हिडेर निकै अगाडि पुगेछौं। महेश सर र सुरज सर निकै पछि पर्न हुन्छ। चारैतिर खुल्ला छ पर-परसम्म देखिन्छ तर हामी दुई जना हिँडिरहन्छौं। पहेंलो घाम फागुने धुरीमा पुग्दैछ। अब झमक हुन्छ। सँगै हिड्न पर्छ भनेर दुई जनालाई पर्खिन्छौं। तल ढोरपाटनमा बिजुली बलेको देखिन्छ। चिसो अत्यधिक बढेको हुनाले बाटो छेउको खाली गोठमा आगो बाल्छौं। कतै आपत परियो भने आगो चाहिन्छ भनेर मैकोटमा लाइटर किनेर बोकेका थियौंं। आगो दनदनी बल्न थाल्यो। साथीहरू पनि आइपुगे। एक्छिन सँगै ताप्यौं। तपाईंहरू हिड्न सक्नु हुन्न हिड्दै गर्न होस् रबिन सर र म आगो निभाएर पछि आउने भयौंं। दुई भाईलाई आगो निभाउन सकस भयो। माटो खोजेर लगाए पनि निभ्दैन हावाको वेगले सल्काइ हाल्छ। बल्लतल्ल अलिक नियन्त्रणमा लिएपछि अन्तिम विकल्पको रूपमा पालैपालो दमकल प्रयोग गरेपछि नियन्त्रणमा आयो। हामीले सफलता पाएकोमा खुब हास्यौं।


साथीहरूलाई भेट्न धेरै समय लागेन। ओरालो बाटोमा मोबाइलको लाईट बालेर निरन्तर पाईलाहरू अगाडी बढिरहेको छ। पारी सल्लेरी वन बेला-बेला सुसाउँदैछ। क्रमशः साना साना पाटनहरू पार गरेपछि ढोरपाटन नगरपालिका मुख्य पाटन पुग्छौं। रातको ८ः३० बजेको छ। बिजुलीले श्रृङ्गारिएको ढोरपाटन देखेर हामी चारजना अचम्मित हुन्छौं।

३००० मिटरको अग्लो स्थानमा पनि नगरपालिका छ भनेर दङ्ग पर्छौं। रात छिप्पिएको छ। जाडो समयमा पाहुनाहरू आउँदैन सबै समयमा सुत्ने गर्छन्। यहाँको थकाली पाहुना घरमा पनि सुति सक्नुभएछ तर बोलाउँदा उठिहाल्न भयो। हामीले खाना पकाई माग्यौं खानासँगै घिउ दिने चलन रहेछ। सुरज सरले खानुभयो बाँकी हामी तीन भाईले खुट्टामा दल्यौं र सल्लेरी वनमा सुसाउने हावासँगै निदायौं।

क्रमश...

प्रकाशित मिति: : 2025-02-12 20:25:00

प्रतिकृया दिनुहोस्