पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने नयाँ मापदण्ड सार्वजनिक

नेपालमा पर्वतारोहण तथा पदयात्रामा विदेशबाट आउने पर्यटकले पूर्व भिसा स्वीकृतिसहित बढीमा ७२ घण्टाअगाडि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको रिपोर्टसमेत पेश गर्नुपर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा विदेशवाट नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मा उक्त व्यवस्था गरेको हो। उक्त मापदण्ड यहीँ असोज ९ गते स्वीकृत भएको थियो। 

मापदण्डअनुसार नेपाल आउन अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्ने, ७२ घण्टा अगाडि पिसिआर परिक्षण गर्दा नेगेटिभको प्रमाण पत्र, कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बिमा गरिएको कागजात पेश गर्नुपर्ने र नेपाल प्रवेशपश्चात पर्यटकले न्यूनतम ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। 

होटल क्वारेन्टाइन अवधिको पाँचौ दिन पर्यटककै खर्चमा पिसीआर परीक्षण गर्नुपर्ने र नेगेटिभ रिपोर्ट आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइने जनाइएको छ। 

तर नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्मको अवधिमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्डमा उल्लेख छ। 

यस्तै, पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट पदयात्री वा पर्वतारोहि दलसँग जाने गाईड र सहयोगी सदस्यले कम्तीमा १ लाखको कोरोना सम्बन्धि विमा गर्नुपर्ने उल्लेख गरिएको छ। नेपालको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने मापदण्डमा जनाइएको छ। 

सरकारले बनाएको यस्तो मापदण्डप्रति पर्यटन व्यवासायी उत्साहित छैनन्।

‘सरकारले बनाएको यस्तो नियमले नेपालमा पर्यटक आउलान् त?, ट्रेकिङ एक्सपर्टका सिइओ दिनेश तामाङ ब्लोनले प्रश्न गरे, 'कोराना महामारीले थलिएको पर्यटन उकास्न सरकारले प्रोत्साहन नीतिहरु ल्याउने आशामा थियौं। झन झण्झटिलो र दुरूत्साहन नीति पो आएछ।’

उनले नेपालले आफूले नजाने अरू देशले अपनाएको नियमबाट सिक्न जरूरि रहेको औल्याए।

उनले स्थानीय सरकारले आफूखुसी आफ्नो क्षेत्रमा जान रोक लगाइरहेको बेला पर्यटकका लागि सरकारले झन झन्झटिलो मापदण्ड बनाएको बताए।

प्रकाशित मिति: : 2020-09-29 11:39:27

प्रतिकृया दिनुहोस्