वीरगञ्जबाट शुक्रबार अपरान्ह थप १ सय ७७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्।
नारायणी अस्पताल, वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डक तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको होटल बाबा इन्टरनेशनलको आइसोलेसनबाट ८ तथा वीरगञ्ज तथा पर्सा जिल्लाका होम आइसाेलेसनबाट १ सय ६९ जना गरी १ सय ७७ जना कोरोना निको भई घर फर्किएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले बताए।
स्थानिय प्रसासनले जारी गरेको प्रेस नोटमा आजसम्म पर्सा जिल्लामा २ हजार ५ सय ४१ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये २ हजार १ सय ३३ जना कोरोना निको भई डिस्चार्ज भएको जनाइएको छ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको आईसोलेशनमा उपचारको क्रममा गएराति थप एक जना ७७ बर्षिय संक्रमित पुरुषको मृत्यु भएसँगै शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको प्रशासनले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।
पर्सामा शुक्रबार सम्म सक्रिय संक्रमितको संख्या २ सय २४ जना रहेको छ। जसमध्ये ४८ जना गण्डक तथा नेशनल मेडिकल कलेजमा उपचारत भर्ना भएका छन्। उनिहरु मध्ये १५ जनालाई आईसियुमा राखेर उपचार भई रहेको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताए।
यता अझै वीरगञ्जका विभिन्न सामुदायिक आइसोलेसन सेन्टरमा २२ जना र होम आइसोलेसनमा १ सय ५१ जना संक्रमित रहेको प्रशासनद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ।