युएन महासचिव भन्छन्– कोरोनाविरूद्ध गलत सूचना दिँदा स्थिति भयावह

बिएल संवाददाता

जेनेभा, बिएल ब्यूरो

संयुक्त राष्ट्र संघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले केही व्यक्तिले कोरोना भाइरसविरूद्ध गलत जानकारी दिँदा यो महामारीबाट लड्न गाह्रो परिरहेको प्रस्ट पारेका छन्। 

उनले कोरोना भाइरस महामारी भएको हुनाले यो विश्वजगतको जनस्वास्थ्यको लागि संकटकालको अवस्था रहेको बताए। त्यसैले खराब सूचनाले ठूलो नोक्सानी पुग्ने हुँदा गलत जानकारी नदिन सबैलाई अपील गरेका छन्। 

उनले भने, ‘महामारी स्वास्थ्यको संकटकाल हो। हामी यसलाई सूचनाको संकटकाल सोचेर पनि हिँडिरहेका छौं किनभने एउटा गलत जानकारी सबैका लागि खतरनाक बन्न सक्छ।’

कोरोनाका कारण हाल विश्वमा ३ करोड २१ लाख मानिस संक्रमित भइसकेका छन् भने ९ लाख ८२ हजार बढीको निधन भइसकेको छ।
 
अमेरिकामा मात्र कोरोनाबाट २ लाख ६ हजारको हाराहारीमा मानिसको निधन भइसकेको छ। अमेरिकाले पहिलेदेखि नै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) माथि सूचना लुकाएको आरोप लगाउँदै आएको छ। 

गत डिसेम्बरमा चीनको उहान शहरबाट फैलिएको कोरोना अहिले विश्वको २ सयभन्दा बढी राष्ट्रमा फैलिसकेको छ। 

डब्ल्यूएचओले पहिले यो संक्रमण मान्छेबाट मान्छेमा नसर्ने बताएको थियो। तर, पछि आफ्नो सूचनामा सुधार गर्दै डब्ल्यूएचओले कोरोना मान्छेबाट मान्छेमा सर्ने रोग भएको जानकारी दिएको थियो। 

अमेरिकी सरकारले आफ्नो देशको जनतालाई कोरोनाबाट केही नहुने बताउँदै अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्नु नपर्ने बताएको थियो। 

तर, त्यसको नतिजा अहिले यो देशमा सबैभन्दा बढी ७१ लाख संक्रमित छन्। मर्नेको संख्या पनि विश्वका अन्य देशको तुलनामा दोब्बरभन्दा बढी छ।

प्रकाशित मिति: : 2020-09-24 18:18:26

प्रतिकृया दिनुहोस्