सरकारका प्रवक्ताकाे जिम्मेवारी परराष्ट्रमन्त्री ज्ञवालीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार  सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो।

स्रोतले भन्यो, 'हिजोभन्दा अघिका मन्त्रिपरिषद् बैठकले गरेका निर्णय पनि सार्वजनिक नभएको अवस्थामा प्रधानमन्त्रीले ती निर्णय सार्वजनिक गर्ने जिम्मेवारी दिनुभएको हो।'

अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन्। खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन्।

सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने गरेकोले नयाँ मन्त्री नियुक्त नहुँदासम्म उक्त जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको हो।

पछिल्लो समय बिहीबार मात्रै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने गरिएको छ। प्रवक्ताको जिम्मेवारी पाएका ज्ञवालीले आगामी बिहीबार मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकका निर्णय सार्वजनिक गर्नेछन्।

प्रकाशित मिति: : 2020-09-15 13:06:46

प्रतिकृया दिनुहोस्