५ असोजदेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

सरकारले आउँदो ५ असोजदेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि ठप्प भएका हवाई तथा सडक दुवै यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। ५ असोजदेखि हवाई उडानसँगै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

उडान कसरी संचालन गर्ने भन्ने विषयमा भने हाल छलफल भइरहेको छ। आन्तरिक तर्फ कुन कुन गन्तव्यमा उडान सञ्चालन गर्ने विषय अहिले नछुट्टाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले जानकारी दिए। 

यातायात संचालनका लागि स्थानीय र प्रदेशसँग समन्वय गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले पीसीआर टेस्ट अनिवार्य गर्नेपर्ने र ज्वरो आएको देखियोमा विमानस्थलबाट फर्काउने गरी अनुमति दिन निर्णय भएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले तय गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गराएर यात्रा गर्न दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै विदेशमा समस्या परेका नेपाली फर्काउनका लागि उडान थप्ने निर्णय पनि सरकारले गरेको छ । उडान थपेर असोज महिनाभरमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरी तयारी थाल्ने निर्णय आजको बैठकले गरेको मन्त्री भट्टराईले जानकारी दिए । त्यस्तै, युरोपका देशमा पनि समस्यामा परेका नेपालीको उद्धारका लागि पहल सुरु गरिने पनि उनले बताए ।

यस्तै, बैठकले विद्यालय तथा फिल्म हललगायतका बढी भीड हुने बाहेकका अन्य क्षेत्रलाई सुरक्षाका योजना बनाएर असोज ५ गतेबाटै सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ।

गएको चैत दोस्रो साता देशव्यापी बन्दाबन्दी शुरु गरिएपछि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात ठप्प भएका थिए।

प्रकाशित मिति: : 2020-09-14 21:31:27

प्रतिकृया दिनुहोस्