पूर्व प्रमुख आयुक्त उपाध्याय भन्छन्- अख्तियारले काम गर्न नसकेको दोष प्रमुख नियुक्त गर्नेले लिनुपर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन्।

पछिल्लो आठ/दश वर्षयता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरूलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताए। 

अख्तियारमा दक्ष मान्छेहरू नहुँदा आरोपपत्र सही ढंगले तयार नभएको र साना मसिना केसहरूमा नै अख्तियार बढी अल्झिएको हुनसक्ने उनको भनाइ छ। “अहिले अख्तियारले उदाहरणीय काम गरेको देखिदैन।  सानातिना केसहरूमा लागेको देखिन्छ। स्टिङ अपरेसन भनेको छ, त्यसमा पनि २ हजार ३ हजार मान्छे समातिराखेको छ। केही मुद्दाहरू ठूला पनि छन् तर देखिने गरीका साना मुद्दाहरू मात्रै छन्।”

उनले अख्तियारको आरोप पत्र तयार पार्ने मान्छे समेत नभएको बताए।

नेतृत्व चयन गर्दा नै होस् पुर्‍याएर नगर्दाको परिणाम आठ/दश वर्षयता देखिरहेको उनको भनाइ छ। अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगरेका कारण  परिणाम पनि गलत आउने गरेको बताए। 

विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने उनको तर्क छ। राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरूले नै लिनुपर्ने उपाध्यायले बताए।

“नियुक्ती गर्नेहरू देशका जिम्मेवार व्यक्तिहरू हुन्। हामीले छानेर पठाएका व्यक्तिहरू हुन्। एकजना प्रधानन्यायाधीश बाहेक अरू सबैलाई हामीले छानेरै पठाएको हो। जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरूले नै नगरेपछि  कसको आशा गर्ने ?”, उनले प्रश्न गरे।

स्वयं प्रधानमन्त्रीदेखि विपक्षि दलको नेता संवैधानिक परिषदमा बसेर नियुक्त दिने भएपनि उनीहरूले देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योज्ञता पुगेको र काम गर्न सक्ने मान्छेलाई छान्न नसकेपछि जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्ने उनको तर्क छ।

अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उनको भनाइ छ। उपाध्यायले अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भए मात्र सही नेतृत्व दिनसक्ने बताए। 

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरू नै अख्तियारको कारवाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको उनले बताए।

राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरि पनि व्यवहारिक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।

प्रकाशित मिति: : 2020-09-14 16:02:08

प्रतिकृया दिनुहोस्