मोरङमा तीन सातापछि निषेधाज्ञा हट्यो

मोरङमा तीन सातापछि निषेधाज्ञा हटेको छ। निषेधाज्ञा सकिएपनि कोरोनाको संक्रमण फैलन नदिन प्रशासनले मानिसका गतिविधमा भने कडाई गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले २८ भदौ सांझ सरकारले तोकेको मापदण्ड पूरा गरी अपरान्ह ७ बजेसम्म मात्रै बजारका पसल खुल्ला राख्न पाइने जनाएको छ भने राति ९ बजेपछि हिंडडुलमा प्रतिबन्ध कायमै राखिएको जनाएको छ। 

साथै १० वर्षमाथि र ६० वर्ष मूनिका मानिसलाई आवश्यक काममा बाहेक घर बाहिर निस्कन प्रशासनले रोक लगाएको छ।

ई–रीक्सामा जोर बिजोर प्रणाली कायम राख्दै २ जना मात्रै यात्री चढाउन पाइने प्रशासनले जनाएको छ। “निषेधाज्ञा भन्ने शब्द हटेपछि संक्रमण फैलन नदिन विभिन्न क्षेत्रमा गरिएका कडाई कायम रहेका छन्”, मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले भने,“सैलुन, ब्युटी पार्लर, जिम र पौडी पोखरी बन्द नै रहनेछन्।” 

होटल रेष्टुरेण्टलाई प्रशासनले एक साताअघि प्याकीङ गरेर मात्रै खाद्यवश्तु दिन पाउने गरी खुल्ला गर्न आदेश दिएको थियो।

मन्दिरहरूमा दैनिक रुपमा गरिने पुजा प्रार्थना बाहेक धार्मिक तथा सांस्कृतिक कार्यहरू, मेला, चाडपर्व, जात्रा, हाटबजार, महोत्सव, सभा सम्मेलन, भेला तथा सामूहिक गतिबिधि भने नगर्न प्रशासनले अनुरोध गरेको छ। सरकारद्धारा निर्धारित वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा, जनस्वास्थ्य, यातायात मापदण्ड पालना गरेर उद्योग संचालन गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले निषेधाज्ञा लगाउनु दुई साताअघि विराटनगर महानगरपालिकाले बन्दाबन्दी घोषणा गरेको थियो। प्रशासनले पहिलो साता मध्यान्ह १२ बजेसम्म, दोस्रो साता अपरान्ह ४ बजेसम्म र तेस्रो साता बेलुका ७ बजेसम्म पसल खोल्न दिएको थियो।

मोरङमा हालसम्म २ हजार २ सय १० जना कोरोनाका संक्रमित रहेको र संक्रमणका कारण २६ जनाको मृत्यु भइसकेको प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-14 00:00:11

प्रतिकृया दिनुहोस्