सिन्धुपाल्चोकका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न देउवाको माग

सिन्धुपाल्चोकका जोखिममा रहेका बस्ती स्थानान्तरण गराउन संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ‌ओलीसँग माग गरेका छन् । आइतबार बिहान गएको पहिरोमा परेर सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले राहत र उद्दार कार्यलाई तीव्रता दिन पनि सरकारसँग माग गरेका छन् । 

सभापति देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्हरूले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गर्दछु ।'

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का तीन स्थान- नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा भएको क्षतिको र बाग्लुङको पहिरोप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन् । 'प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरू— खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु,' देउवाको भनाइ छ । उद्दार र राहतको काममा लाग्न पार्टीका नेता कार्यकर्तालाई देउवाले निर्देशन दिएका छन् ।

प्रकाशित मिति: : 2020-09-13 15:29:57

प्रतिकृया दिनुहोस्