ललितपुरका अस्पतालमा उपचाररत ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ।
मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन्।
पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ। यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।
उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।
यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको छ।
उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए।