होल्डिङ सेन्टरबाट दिइने सवारीसाधन अनुमति पत्रको कीर्तेछाप गरी बेच्ने एक जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले गोर्खा घर भइ काठमाडौं महानगर २६ कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारीलाई पक्राउ गरेको हो।
किर्तेछाप गरी सर्वसाधरणलाई सवारीको प्रति पास दुई हजारमा बेच्ने गरेको भन्ने खबर प्राप्त भएपछि ब्युरोले उनलाई शुक्रबार टोखा नगरपालिका ७ तिलिंगेटारबाट पक्राउ गरेको हो।
पक्राउ परेका अधिकारी पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्न खटिएका थिए।
प्रहरीले उनीबाट दुई हजार रूपैयाँ, एक थान सहीछाप गरेको पास र एक थान सहीछाप नगरेको पास समेत बरामद गरेको छ।
थप अनुसन्धान गर्न ब्युरोले उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा बुझाएको छ।