बाँकेमा अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमितको ४२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृतक अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १२ स्थायी बासिन्दा हुन्। ट्रिपर चालक समेत रहेका मृतक गत साउन २७ गते दुर्घटना परेका थिए।
दुर्घटना लगत्तै उनलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो। उपचारको क्रममा कोरोना आंशकामा पीसीआर टेस्ट गर्दा उनको भाद्र ५ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमण पछि भाद्र ९ गतेसम्म थप परामर्श तथा उपचार गराउँदा समेत सुधार नभएपछि शिक्षण भैरहवाबाट रिफर गरेर कोहलपुरमा भाद्र ११ गते भर्ना गरिएको थियो। उपचार कै क्रममा मंगलबार विहान भने उनको मृत्यु भएको हो।
योसँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने बाह्य जिल्लाका कोरोना संक्रमितहरुको संख्या तीन पुगेको छ। यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार कै क्रममा अछामका १ पुरुष र कैलालीका महिलाको मृत्यु भएको थियो।