एसिडपीडित किशाेरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्।
प्रधानमन्त्री ओलीले मंगलबार साँझ मुस्कानलाई बालुवाटार बाेलाएका थिए। प्रधानमन्त्रीले मुस्कानलाई बोलाएर उनको अवस्थाबारे कुराकानी गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीसँगकाे भेटमा मुस्कानले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
जवाफमा प्रधानमन्त्री ओलीले दाेषीलाई तत्काल कारबाही गर्ने र तेजाब ओसार, पसार, बिक्रीमा पनि कडाइ गर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले सबैका सुझाव समेटेर कडा कानुन बनाइने पनि बताएका थिए। प्रधानमन्त्री ओलीले एसिड पीडितको सरकारी अस्पतालमा निशु:ल्क उपचार गराउने पनि बताए।
प्रधानमन्त्री ओलीले खातुनको कुरा सुनिसकेपछि निकै प्रभावित मुद्रामा सार्वजनिक चर्चा–परिचर्चाभन्दा पढाइलेखाइमा ध्यान दिन सुझाव दिए।
‘मिडियाहरू तिम्रो कुरा बिकुन्जेल पछाडि लाग्छन्, त्यसपछि छाडिदिन्छन्,’ ओलीले भने, ‘त्यसैले मिडिया होइन, पुस्तकतिर ध्यान देउ।’
अभियन्ता थापाका अनुसार प्रधानमन्त्री ओलीले एसिड आक्रमण पीडितहरूलाई सरकारबाट उपयुक्त रोजगारीको व्यवस्थासमेत गरिने प्रतिबद्धता जनाएका थिए।
भेटमा मुस्कानसँगै उनका बुवा, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नेपाल मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी, एसिडपीडितलाई सहयोग गर्दै आएका उज्वल थापा र सुरजसिंह ठकुरी पनि सहभागी थिए।
वीरगञ्जकी किशाेरी मुस्कानमाथि ०७६ भदौ २० गते एसिड प्रहार भएकाे थियाे । मुस्कानमाथि माजिद मियाँ र शमशाद मियाँले एसिड प्रहार गरेका थिए । घटनालगत्तै पक्राउ परेका थिए । उनीहरू अहिले पनि प्रहरी नियन्त्रणमा छन् ।