बेलायतमा कोरोना संक्रमणसँग जोडिएको एउटा गोप्य सरकारी रिपोर्ट बाहिरिएको छ। जसअनुसार जाडोयाममा मात्र बेलायतमा ८५ हजार मानिसको निधन हुन सक्ने आशंका गरिएको छ।
बेलायतको चर्चित मिडिया बीबीसीका अनुसार यो तथ्यांकलाई मध्यनजर गरेर सरकारले नोभेम्बरदेखि मार्च महिनाको बीचमा लकडाउन गर्न सक्छ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हेनककले शनिबार भने, ‘ देशमा दोस्रो चरणको संक्रमणको खतरा बढेको छ। यस्तो अवस्थामा पुनः लकडाउन हुने सम्भावनालाई अस्विकार गर्न सकिन्न। संक्रमणको संख्या तीब्र गतिमा बढेको खण्डमा लकडाउनलाई कडा पार्ने बाहेक हामीसँग अर्को विकल्प छैन।’
बेलायतमा ३ लाख ३१ हजारभन्दा बढी संक्रमित छन् भने ४१ हजारभन्दा बढीको निधन भइसकेको छ। कोरोना संक्रमणको घटना बढिरहेको बेला पर्यावरण अभियन्ताहरूले हालै लन्डनमा हरियो मास्क लगाएर प्रदर्शन गरेका छन्।