रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य ‘सर्कुलर’ बाहिरिएको छ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ।
यही भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी श्रीराम साह तेलीलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो। हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको थियाे। तर अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध जनाइरहेका छन्।
यसैबीच चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न भनिएको छ।
शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन/गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भए/गरेको पाइएमा संलग्नताहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ।’
गएको बुधबार राति आफ्नै खर्चले हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका तेलीको हत्या भएको थियो। मन्दिरनजिक रहेको फुसको छानो भएको रहेको कुटी जस्तो ठाउँमा खाना खाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो।
गोलीको आवाज सुनेपछि मन्दिर पुगेका स्थानीयले प्रहरीलाई तेलीको हत्या भएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा खाना खाइरहेकै ठाउँमा दायाँतर्फ ढलेको अवस्थामा उनी मृत फेला परेका थिए। मन्दिरमा घटना भएको बेला तेली एक्लै थिए।
तेली हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ। प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्। एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ। केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ।’
अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको उनको दाबी छ।
घटनाबारे विस्तृत अनुसन्धानमा सहयोग पुगोस् भन्दै जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनाको भोलिपल्ट बिहीबार झिकाइएको थियो। र, हत्यामा संलग्न सीमा पार हुन सक्छन् भन्दै सीमा क्षेत्रमा सुरक्षा तैनाथी रौतहट प्रहरीले गरेको थियो। तर अहिलेसम्म कुनै उपलब्धि हात पार्न सकिएकाे छैन।
तेलीको हत्यापछि विश्व हिन्दु परिषद, (राप्रपा) निकट विद्यार्थी संगठन र साझा पार्टीलगायत विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।