विवेकशील नेपालीको एजेन्डा- १८ वर्ष पुगेकाले राष्ट्रपतिमा लड्न पाउनुपर्ने नीतिको वकालत गर्ने

विवेकशील नेपाली दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री हुनुपर्ने कुरालाई राजनीतिक एजेन्डा बनाएर अगाडि बढ्ने भएको छ। 

विवेकशीलका अध्यक्ष मिलन पाण्डेले नयाँ राजनीतिक दस्तावेजनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री हुनुपर्ने बताएका छन्। 

विवेकशीलले हालको शासकीय प्रणालीमा परिमार्जनको एजेन्डालाई अगाडि सारेको हो। हाल आलंकारिक राष्ट्रपति छन् भने कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको छ। त्यस्तै, उपराष्ट्रपतिलाई राष्ट्रपतिको अनुपस्थितिमा काम गर्ने अधिकार छ। 

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिनेछ। राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्नेछ। प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहनेछन्,’ दलको राजनीतिक दस्तावेजमा भनिएको छ।

त्यस्तै, प्रदेशसभामा बहुमत प्राप्त सदस्य मुख्यमन्त्री हुने व्यवस्था परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने पनि उसको राजनीतिक दस्तावेजमा लेखिएको छ।

युवाहरूलाई राजनीतिमा आकर्षित गर्नका लागि मतदान गर्ने उमेर पुगेको व्यक्ति जुनसुकै पदमा निर्वाचित हुन पाउने नीति अवलम्बन गर्नुपर्ने उक्त दलको माग छ। 

‘युवालाई राजनीतिको मूलधारमा ल्याउन १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको वकालत गर्नेछ,’ दस्तावेजमा भनिएको छ,‘१८ वर्ष पुगेका प्रत्येक नागरिकले नागरिक मेयर, सांसद वा राष्ट्रपति बन्नको लागी योग्य छन् भन्ने अवधारणा अनुरुपमा उठ्न पाउने नीतिको वकालत गर्नेछ।’

विवेकशीलले ‘गतिशील लोकतान्त्रिक बहुलवाद’लाई दलको दर्शन मान्ने उल्लेख गरेको छ। त्यस्तै, सहभागितामुलक लोकतन्त्र, गतिशील मध्यमार्ग, सामाजिक न्याय र दिगो आत्मनिर्भर अर्थतन्त्रलाई चारखम्बे सिद्धान्त मान्ने पनि जनाएको छ।

यस्तो छ विवेकशील नेपालि दलको दस्तावेजः

प्रकाशित मिति: : 2020-08-26 13:35:25

प्रतिकृया दिनुहोस्