अब ‌ओमानस्थित नेपाली दूतावासको आफ्नै भवन बन्ने, जग्गा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर

नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवाशिय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ।

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रशासन तथा लेखा मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ ।

उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने समझदारी बनेको छ। 

हस्ताक्षर कार्यक्रमपछि मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए।

उनले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा नेपाललाई बधाइ दिए। ओमान र नेपालका यी दुइ अधिकारीले नेपाल ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट समेत गरेका थिए।

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ। क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ। समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ।

ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण देखिने राजदूत पराजुलीले बताइन।

उनका अनुसार दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ। यसले खाडी क्षेत्रमा रहेका करिव १५ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने उनले बताइन।

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास ओमानको हुने छ। त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने पराजुलीले बताइन।

ओमानमा राजदूत भएर जाने वित्तिकै पराजुलीले दूतावासको आफ्नै भवन बनाउन पहल गरिरहेकी  थिइन। 

प्रकाशित मिति: : 2020-08-25 17:35:22

प्रतिकृया दिनुहोस्