महोत्तरीमा दुई र रुपन्देहीमा थप एक कोरोना संक्रमितकाे ज्यान गएकाे छ।
गैडहवा गाउँपालिका ३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार राति भैरहवामा रहेको भीम अस्पतालमा ज्यान गएको हो।
बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका थिए। उनको टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो।
यता आजै मनरा सिस्वाका ७५ वर्षीय पुरुषलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउदैँ गर्दा बाटोमै मृत्यु भएको छ।
उनी क्यान्सरका रोगी थिए। उनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा आउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै अर्का मृतक बलवा नगरपालिकाका ६६ बर्षिय पुरुषको मृत्यु भएको छ। उनी लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित थिए।