नेकपा सचिवालय बैठक शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३  बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन हुनेछ। थापाका अनुसार आज दुई अध्यक्षबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । 

गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ । 

प्रकाशित मिति: : 2020-08-25 14:03:05

प्रतिकृया दिनुहोस्