कोरोना नियन्त्रणका लागि विद्यासुन्दरलाई गगनका ६ सुझाव

नेपाली कांग्रेसका नेता गगन थापाले काेराेना संक्रमण नियन्त्रणका लागि काठमाडाैं महानगरपालिकालाई ६ वटा सुझाव दिएका छन्।

महानगर प्रमुख विद्यासुन्दर शाक्य र महानगरकाे स्वास्थ्य विभाग प्रमुखसँग छलफल गरेर ६ वटा बुँदामा सुझाव दिएकाे थापाले जानकारी दिए । थापाले कन्याक्ट ट्रेसिङकाे गति बढाउन सुझाव दिए।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयाेग लिन पनि सुझाव दिइएकाे थापाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

काेराेना संक्रमणकाे उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण हुने उल्लेख गरेक छन्। थापाले लेखेका  छन् - 'हामी सबै सहयोग गर्न तयार छौँ, सबै तह र निकायसँग समन्वय गर्नुहोस्, महानगरको संरचनालाई गतिशील बनाउनुहोस्,आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् ।'

नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता भएकाे थापाकाे विचार छ ।

यी हुन् थापाले दिनुभएका सुझावः 

१) काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहान्छौँ । तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२) महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३) कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

४) अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५) खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ।

६) कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नका लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

प्रकाशित मिति: : 2020-08-24 23:42:15

प्रतिकृया दिनुहोस्