उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।

यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।

बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ। यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परीक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सीआईसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

यता काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताए। ‘अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी ‘क्लोज कन्ट्याक्ट’मा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको छ,’ उनले भने। 

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोहीपनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए।

प्रकाशित मिति: : 2020-08-24 22:52:00

प्रतिकृया दिनुहोस्