कोरोना संक्रमित बढ्न थालेपछि ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन्।

गृह मन्त्रालयका अनुसार निश्चित क्षेत्रमा कोरोना संक्रमण देखिए १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ।

मन्त्रालयले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गर्न अनुमति दिइएकाे छ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ।

नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ।

आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन्।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन्।

निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ। आइतबारबाट उपत्यकामा खाद्यान्न तथा तरकारी पसल पनि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ।

हेर्नुहोस् निषेधाज्ञा लगाइएको जिल्लाको सूची

प्रकाशित मिति: : 2020-08-23 20:05:32

प्रतिकृया दिनुहोस्