नेकपा कार्यदलले बुझायो प्रतिवेदन, दुवै अध्यक्ष कार्यदलसँग छलफलमा

नेकपाभित्रको विवाद समाधानको उपाय सिफारिश गर्न महासचिव विष्णु पौडेल सयोजकत्वको गठित कार्यदलले सुझाव प्रतिवेदन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।
 
प्रधानमन्त्रीनिवास, बालुवाटारमा शनिबार बसेको बैठकले प्रतिवेदन तयार पारी करिब साढे ५ बजे दुवै अध्यक्षलाई बुझाएको हो। 

प्रतिवेदन बुझेपछि दुवै अध्यक्षले कार्यदलसँग छलफल पनि गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपालीसेवासँग भने, 'अहिले कार्यदलले सर्वसम्मत तयार पारेको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ, अहिले कार्यदलसँग अध्यक्षद्वय छलफलमा हुनुहुन्छ।'

अब एक–दुई दिनभित्रै पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने छ। कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई सचिवालयले प्रस्तावका रुपमा तयार पार्ने छ। त्यसपछि पार्टीको स्थगित स्थायी कमिटी बैठक डाकिने छ। अनि त्यहाँ प्रस्तुत गरी पारित गरिने छ र स्थायी कमिटी बैठक समापन गरिने छ।

स्थायी कमिटीबाट महाधिवेशनको निर्णय गरिने भएकाले केन्द्रीय कमिटी बैठक पनि डाकिने छ- कोरोना कहर हटेपछि। केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनमा जाने निर्णय गरिने छ। 

गत शुक्रबार अध्यक्षद्वयले पार्टीभित्रको समस्याको पहिचान र समाधानको उपायलाई लिपिबद्ध गर्न महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका थिए। 

जसमा ओलिनिकट शंकर पोखरेल, नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे, प्रचण्डनिकट पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।

गत असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठक पदके विवादमा अल्झेपछि स्थगित छ। 

कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री र अध्यक्षबाटओलीले राजीनामा गर्नुपर्ने बताउँदै दबाब दिएका थिए तर प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान राखेपछि नेकपा विवाद फूटको संघारमा पुगेको थियो। 

प्रकाशित मिति: : 2020-08-22 18:11:53

प्रतिकृया दिनुहोस्