सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीमा पहिरोमा बेपत्ता भएका थप ५ जनाको शव बुधबार भेटिएको छ।
५ वर्षका बालकसहित थप तीन पुरुष र दुई महिलाको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ। पहिरोमा अझै ९ जना हराइरहेका छन् । पहिरोमा पुरिएकाहरुको खोजी गर्न स्काभेटर लैजाने भनिए पनि बाटो अवरुद्ध भएपछि लैजान नसकिएको उनको भनाइ छ ।
हराएकाहरुकाे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन्। लिदीमा शुक्रबार गएको पहिरोले ३७ वटा घरमा क्षति गरेको र १३ वटा घर पूरै भत्काएको थियो। पहिरोबाट विस्थापित भएकाहरुलाई टेन्ट र त्रिपालमा राखिएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार स्थानीयकै बारीमा ४० वटा टेन्ट हालिएको छ। यस्तै विस्थापित भएकाहरुलाई सुरक्षित ठाउँमा टहरो बनाएर राख्ने योजना गाउँपालिकाको रहेको पनि उनले बताए।