ओली र प्रचण्डबीच आज पनि भेट, नियुक्ति र सिफारिस बदर गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

 उनीहरूबीच बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको स्रोतले जानकारी दियो।

भेटमा अध्यक्ष प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति र सिफारिस बदर गर्न प्रधानमन्त्री ओली आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताए।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियाे। भण्डारीको नियुक्ति अदालतले नै बदर गरिदिइसकेको छ।

आजको भेटमा प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने बताएको स्रोत बताएकाे छ।

प्रकाशित मिति: : 2020-08-20 17:17:48

प्रतिकृया दिनुहोस्