मुस्ताङकी नयाँ सिडिओ होम क्वारेन्टाइनमा

प्रमुख जिल्ला अधिकारीको कार्यभारसहित मुस्ताङ आएकी प्रजिअ हिरादेवी पौडेल सोमबारदेखि आफ्नै क्वाटरको होम क्वारेन्टाईनमा बसेकी छन्। 

यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशक रहेकी उनी मुस्ताङको ३८ औं प्रमुख जिल्ला अधिकारीको रुपमा आईतबार आएकी हुन्। 

उनी मुस्ताङ आएलगत्तै क्वाटरमा सुरक्षित होम क्वारेन्टाईनमा बसेको  जानकारी दिईन्।

नयाँ प्रजिअ पौडेल मुस्ताङ आउँदा बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीले सामाजिक दुरी कायम गरी नयाँ प्रजिअलाई अनौपचारिक रुपमा स्वागत गरे। यस लगत्तै उनी सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु भएको नियम/कानुनलाई आत्मसाथ गर्दै एकान्तबास बसेको प्रजिअ पौडेलले जानकारी दिईन् ।

पछिल्लो समय कोरोना भाईरसको अवस्था दिनप्रतिदिन भयावह भईरहेको र आफु पनि संक्रमित जिल्लाबाट ग्रिन जोन मुस्ताङमा आएकाले यस जिल्लालाई ग्रिन जोन कायम राख्न होसियारी र सर्तकता अपनाएको प्रजिअ पौडेलले बताईन्। 

प्रजिअ पौडेलले मुस्ताङलाई कोरोना मुक्त राख्न साविकका योजनाहरुलाई कायम राख्दै सीमा नाकालाई थप कडाई गर्ने जनाईन्। यसका लागि म्याग्दी प्रशासनसँग सहकार्य भईंरहेको प्रजिअ पौडेलको भनाई छ।

यसअघि मुस्ताङका लागि पहिलो महिला प्रजिअको रुपमा उषा नेपाल थिइन्। दोस्रो महिला प्रजिअको रुपमा हिरादेवी पौडेल मुस्ताङमा हाजिर भएकी हुन्।

प्रकाशित मिति: : 2020-08-19 17:05:46

प्रतिकृया दिनुहोस्