निलम्बित सांसद रौनियारद्वारा संसद् निलम्बनको जवाफ माग गर्दै सचिवालयमा निवेदन

पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले संसद् के कारणले निलम्बनमा परेको जवाफ माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्। उनले म‌ंगलबार निवेदन दिएका हुन्।

रौनियारले संघीय संसदका महासचिवलाई निवेदन दिएर निलम्बनमा पर्नुको कारण माग गरेका हुन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेपछि रौनियारलाई सांसद पदबाट निलम्बन गरेको थियो। यसअघि रौनियारले २०७५ पुस १५ गते  गैरकानुनी हिसाबले निलम्बन गरेको भन्दै कारणसहित जवाफ दिन आग्रहसहित संसद सचिवालयमा निवेदन दिएका थिए।

लामो समयसम्म पनि जवाफ नआएको भन्दै मंगलबार उनले पुन ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका हुन्।  संसद सचिवालयले पनि उनले पुन ध्यानकर्षण गराएको जनाएकाे छ।  

बर्दियाको जबदीघाटस्थित बबई नदीको पुल निर्माणमा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  उनीले आफ्नै पप्पु कन्स्ट्रक्सनबाट ठेक्का पाएका थिए। उनको कम्पनीले बनाएको बबई नदी माथिको पुल १४ महिनामै भासिएपछि अख्तियारले पुलको गुणस्तरमा प्रश्न उठाउँदै अनुसन्धान अघि बढाएको थियो। 

उनले आफूलाई निलम्बन गर्ने प्रक्रिया गैरकानूनी भएको पनि दाबी गरेका छन्।  उनले अख्तियारले मुद्दा दायर गर्दैमा सांसद नै निलम्बन गर्नुपर्ने कारण नरहेको बताएका छन्।  

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्दैमा जननिर्वाचित प्रतिनिधि निलम्बन गर्नुपर्ने हैन, यो प्रावधान प्रतिनिधिसभा संसद नियमावली समेतको विरूद्ध हो फुकुवा गरियोस’ उनले निवेदनमा भनेका छन्। पप्पु कन्स्ट्रक्सनले विभिन्न जिल्लामा विकासे आयोजनाहरु अझै अलपत्र पारिरहेको छ। तर, उनले भने लामो समय यता आफू पप्पुको जिम्मेवारीमा नरहेको दाबी गर्दै आइरहेका छन्।  

प्रकाशित मिति: : 2020-08-19 11:24:05

प्रतिकृया दिनुहोस्