काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्न तीन सिडिओबीच छलफल

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भएको छ।

संक्रमण रोक्ने विषयमा काठमाडौंका सिडिओ जनकराज दाहाल, ललितपुरका सिडिओ नारायणप्रसा भट्ट र भक्तपुरकी सिडिओ हुमकला पाण्डेबीच मंगलबार छलफल भएको हो। 

उपत्यकाका सिडिओहरूले यसबारे गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूरै जिल्ला वा कुनै क्षेत्रमा निषेधाज्ञा जारी गर्ने अधिकार सिडिओहरुलाई दिएपछि काठमाडौंमा यसबारे तयारी भइरहेको हो।

छलफलमा सहभागी एक सिडिओका अनुसार निषेधाज्ञा लगायतका विकल्पका बारेमा छलफल भइरहेको छ, निषेधाज्ञा जारी गर्ने विषयमा  निर्णय भने भइनसकेको ती सिडिओले बताए।

सरकारले यसअघि जारी गरेका निर्णयमा पनि काठमाडौं उपत्यकालाई एक जिल्ला मानेर नियम लागू गर्दै आएको छ। निषेधाज्ञा जारी भएमा अतिआवश्यक बाहेकका सेवा ठप्प रहनेछन्।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले यसअघि नाकामा कडाइ गर्नुका साथै रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको थियो।

तर, संक्रमण दर कायमै रहेपछि पछिल्लो पटक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नुका साथै धेरै क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ।

मंगलबार मात्र काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंमा संक्रमितको संख्या २ हजार नाघिसकेको छ।

प्रकाशित मिति: : 2020-08-18 17:19:28

प्रतिकृया दिनुहोस्