बाढीपहिरोमा घाइते भएको सम्पूर्ण उपचार खर्च सरकारले व्यवहोर्ने

बाढीपहिरोमा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारमा कुनै कमी हुन नदिने र उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार बाढीपहिरो लगायत विपद्मा ज्यान गुमाउनेका परिवारलाई राहत दिने निर्णय गरेको छ। 

सरकारले बाढीपहिरो पीडितको उपचार  खर्च व्यवहोर्नुका साथै यातायात खर्च १ हजार रुपैयाँ दिने भएको छ।

राहत मापदण्ड परिमार्जन गरे अनुसार अब विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो। यसअघि १ लाख दिइँदै आइएको थियो। यसैगरी, सोही परिवारका अन्यको पनि ज्यान गएमा थप एक लाख रुपैयाँ दिइने छ।

यसैगरी, बाढीपहिरोमा घर नष्ट भएमा वा पसल व्यवसाय, खेतबारीमा क्षति भएर खाद्य समस्या भएमा सरकारले थप राहत दिने छ।

५ जनाको परिवारलाई १५ हजार र त्योभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका दरले तत्काल सहायता प्रदान गर्ने निर्णय भएको खतिवडाले जनाए।

यसैगरी, बाढीपहिरोमा घर नष्ट भएमा वा जोखिम भएमा सुरक्षित स्थानमा घर सार्न १ लाख रुपैयाँ दिइने भएको छ।

प्रकाशित मिति: : 2020-08-18 16:55:30

प्रतिकृया दिनुहोस्