नेपाल–भारत उच्च कूटनीतिज्ञबीच वार्ता, नेपालमा सञ्चालित परियोजनाको समीक्षा

लामो समयको अन्तरालपछि नेपाल–भारतका उच्च कुटनीतिज्ञबीच छलफल भएको छ। नेपालमा सञ्चालित भारतीय परियोजनारुको अवस्थाबारे अनुगमन गर्न गठित सचिवस्तरीय संयन्त्रको बैठक बसेको हो ।

कोरोना महामारीका कारण भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको बैठक परराष्ट्र सचिव शंकरदास बैरागी र भारतीय राजदूत विनयमोहन क्वात्राको सहअध्यक्षतामा भएको थियो।

बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजनाहरुमा २०७६ असार २३ यता भएको प्रगतिबारे समीक्षा भएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतले प्रतिबद्धता जनाएअनुसार भूकम्प पीडितका लागि अझै ३७ सय घर निर्माण गर्न बाँकी देखिएको छ।

भारतले भूकम्प प्रभावित गोर्खा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि सहयोग घोषणा गरेको थियो । हालसम्म ४६ हजार ३०१ वटा घर निर्माण भएको बैठकमा जानकारी दिइएको छ ।

त्यसैगरी बैठकमा कोभिड–१९ नियन्त्रणका लागि भारतले नेपाललाई उपलब्ध गराएको सहयोगको नेपालले प्रशंसा गरेको भारतीय दूतावासले जनाएको छ।

चार महिना लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको दुई पनि पछि यो संयुक्त संयन्त्रको बैठक बसेको हो।

दुवै नेताहरुबीच चार महिनापछि टेलिफोन संवाद भएको थियो। लिपुलेकमा नेपाली भूभागमा भारतले एकपक्षीयरुपमा सडक बनाएपछि दुवै देशबीच विवाद बढेको छ।

प्रकाशित मिति: : 2020-08-17 17:05:42

प्रतिकृया दिनुहोस्