आज भीमसेन जात्रा, सामान्य पूजामै सीमित

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बेलुका पाटनमा हुने भीमसेन महाराजको जात्रा स्थगित भएको छ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा रहेको छ। पाटन दरबार क्षेत्रस्थित ऐहिासिक भीमसेन मन्दिरको सबैभन्दा माथिल्लो तल्लामा रहेको भीमसेनको मूर्तिलाई श्रृंगार गरी धातुको बिशेष खटमा राखेर नगर परिक्रमा गराउने गर्दछ। जात्रामा प्रयोग हुने धातुको खट पनि अरु जात्रामा प्रयोग हुने खट भन्दा फरक छ ।

यस वर्ष भीमसेन जात्रा नमनाउने निर्णय गरिएको मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराजा श्रेष्ठले जानकारी दिए। ‘काठमाडौं उपत्यकाका अरु जिल्लासँगै ललितपुरमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ । कतिको मृत्यू भइसकेको छ । यसले गर्दा नगरको प्रसिद्ध एवं उपत्यकाका रोमाञ्चकारी भीमसेन महाराज जात्रा नमनाउने निर्णय गरेका हौं,’ उपाध्यक्ष श्रेष्ठले भने।

यो जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रुपमा लिइन्छ ।

 

प्रकाशित मिति: : 2020-08-13 17:08:22

प्रतिकृया दिनुहोस्